बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी रहेको बताउनुभयो। बैतडीको पाटनमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राठोरले कांग्रेस हामीले देश र जनताका लागि राजनीति गरेको पार्टी रहेको बताउनुभएको हो।
उहाँले भन्नुभयो, जनतालाई अधिकार सम्पन्न गर्न, दासप्रथा अन्त्य गर्न,रैतीबाट नागरिक बनाउन कांग्रेस पार्टी खुलेको हो। कांग्रेस पार्टी सबै जात,सबै धर्म,सबै वर्गको पार्टी हो। कांग्रेस विकासको सुत्रधार रहेको बताउदै कांग्रेस बाहेक अरूले विकास गर्न नसक्ने बताउनुभयो।
वीपी कोइरालाको विचार बोकेको पार्टी कांग्रेस रहेकोलेपार्टीभित्र रहेका कमिकमजोरी सुधार गर्दै एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, टोल र वडाबाटै पार्टीलाई बलियो बनाउनुपर्छ। कांग्रेस कमजोर भए यो व्यवस्था रहदैन। लोकतन्त्र बच्न सक्दैन।
नेपाली कांग्रेस बैतडीका उप सभापति वीरबहादुर विष्टको अध्यक्षता सम्पन्न कार्यक्रममा उपसभापति खगेन्द्रसिंह धामी,सचिव प्रेम चन्द,सहसचिव दीपेन्द्र बहादुर चन्द,कोषाध्यक्ष चक्रबहादुर चन्द, वडा सभापति, पालिका सभापति, प्रदेश सभा क्षेत्रिय कार्य समिति, जिल्ला कार्य समिति, माहाधिबेशन प्रतिनिधि र महासमिति सदस्य, भातृ तथा सुभेच्छुक संस्थाका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो।
कार्यक्रमकै अवसर पारेर नेपाल तरूण दल बैतडीका कार्यवहाक अध्यक्ष महेशदत्त भट्टले सहमहामन्त्री किशोर सिंह राठोरलाई भित्ते पात्रो प्रदान गर्नुभयो।
