बैतडी घर भएकी एक बालिका भारतको नयाँ दिल्लीबाट बेपत्ता भएकी छन्। जिल्लाको मेलौली नगरपालिका-३ कुजागाड चिनाड घर भएकी १० बर्षीया हेमन्ती चन्द सोमबार दिउँसो नयाँ दिल्लीको कोटला भन्ने स्थानबाट बेपत्ता भएकी हुन्।
पसलमा सामान किन्न गएकी चन्द पसलबाटै बेपत्ता भएकी खबर आएको स्थानीय जय चन्दले जानकारी दिए। हेमन्तीलाई कसैले लगेको दृश्य सीसीटीभी क्यामेरामा देखिएको समेत उनले बताए।
हेमन्तीका बुवा जनक चन्द रोजगारीको सिलसिलामा दिल्लीमा रहेका र उनी आफ्नी हजुरआमासंग घुम्नका लागि दिल्ली पुगेको बताइएको छ। कक्षा ३ मा अध्ययनरत हेमन्ती बिदाको समयमा घुम्नका लागि घरबाट दिल्ली पुगेकी थिइन्।
हेमन्ती बेपत्ता भएपछि उनको खोजी कार्यमा सहयोग गरिदिन घरपरिवारले आग्रह गरेका छन्।