मेलौलीमा किशोर किशोरी मैत्री स्थानिय तह समुन्वय समिति र स्वास्थ्य संस्था प्रमुखहरु संग अभिमुखीकरण गोष्ठी

बैतडी-बैतडीको मेलौलीमा नगरपालिकामा किशोर किशोरी मैत्री स्थानिय तह समुन्वय समिति र स्वास्थ्य संस्था प्रमुखहरु संग अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरी मैत्री बनाउने उदेश्यले उक्त कार्यका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका, २०७९ बमोजिम किशोरकिशोरी मैत्री स्थानीय तह निर्माणका लागि पालिका स्तरीय समन्वय समिति तथा अभिमुखीकरण गोष्ठी सम्पन्न भएको स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्दले बताए ।

नगरपालिकाका प्रमुख भीम बहादुर चन्दको संयोजकत्वमा गठित समन्वय समितिको सह संयोजकमा नगर उपप्रमुख पार्वती बोहरा विष्ट, सदस्यहरुमा वडा अध्यक्षहरुको तर्फबाट हर्क बहादुर चन्द, शिक्षा शाखाको तर्फबाट प्रा.स रोहित प्रसाद भट्ट,स्वास्थ्य शाखाको तर्फबाट मोहन सिंह भाट, र सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्द रहनुभएको छ ।समिति भित्रका सदस्यहरुमा दुई जना किशोरकिशोरी र एक जना मणिलेक माध्यमिक विद्यालका प्रधानाध्यापक देव दत्त कलौनी रहेका छन ।

किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था हुनका लागि यौन तथा प्रजनन सम्बन्धी परामर्श, परिवार नियोजन सेवा, पोषण सम्बन्धी जानकारी, यौनजन्य तथा एचआईभी नियन्त्रण सम्बन्धी जानकारी, हिंसाबाट बच्ने उपाय सम्बन्धी परामर्श, लागू औषधबाट बच्ने उपाय, नसर्ने रोगबारे जानकारी, मानसिक स्वास्थ्य सम्बन्धी जानकारी र परामर्श सेवा अनिवार्य उपलब्ध भएको हुनुपर्नेछ ।

अधिकांश किशोर किशोरीहरु कुलतमा फस्ने सम्भावना रहेका कारण किशोर किशोरीहरुको बढी रेखदेख तथा ख्याल अभिभावक र समुदायले गर्नु पर्ने नगर प्रमुख भीम बहादुर चन्दले बताए । १० बर्ष देखी १९ बर्ष मुनीका उमेर समुहकालाई किशोर किशोरी भनिने भएका कारण यो समयमा अभिभावकहरुले बढी संबेदनशिल हुनु पर्ने र आफ्नो जिम्मेवारीको भुमिका यसै समयमा निर्वाह गर्नु पर्ने नगर प्रमुख चन्दले बताए ।

यही समुहका किशोरहरु लागु औषधमा फस्ने, वालविवाह गर्ने लगायतका धेरै कारण हुने भएकाले यसबाट आ –आफ्ना छोरा छोरीलाई जोगाउन सबै अभिभावकहरुले बढी ख्याल राख्नु पर्ने उनले बताए ।

मेलौली नगरपालिकाका ९ वटा स्वास्थ्य संस्थाहरु मध्ये २ वटामा स्वास्थ्य संस्थाहरु किशोर किशोरी मैत्री प्रमाणिकरण गरि स्वास्थ्य सेवा दिदै आएको र अन्य संस्थाहरुलाई पनि स्वमुल्याकंन गरि घोषणा गर्ने तयारी रहेको स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताए।

बिहीबार नगरपालिकास्थित सभाहलमा स्वास्थ्य शाखाद्धारा आयोजित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रमबारे अभिमुखिकरण सँगै पालिकास्तरीय समन्वय समिति गठन कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.