बैतडीको शिवनाथमा सञ्चालन भएको निःशुल्क आँखा शिविर सम्पन्न

बैतडी: शिवनाथ गाउँपालिकामा आयोजना गरिएको दुई दिने निशुल्क शल्यक्रियासहितको आँखा शिविर सम्पन्न भएको छ। शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेस नेपालको संयुक्त आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो।

शनिबार र आइतबार दुई दिन सञ्चालन भएको शिविरबाट ६ सय ३३ जनाले आँखाको जाँच गराएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले जानकारी दिए। मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकहरुले शिविरमा सेवा लिएको उनले बताए।

शिविरमा आएका मध्ये १ सय ६ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ भने ४ जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको छ। आफ्नै गाउँठाउँबाट शल्यक्रियासहितको शिविरबाट आँखासम्बन्धि सेवा पाएपछि स्थानीय नागरिक खुसी भएका छन्।

गाउँपालिकाबासी र आसपासका नागरिकलाई मध्यनजर गरेर शिविरको आयोजना गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए। नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविरको आयोजना गरिएको उनले बताए।

धनगढी नेत्रालयले गएको साता जिल्लाको पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा पनि शल्यक्रिया सहितको शिविरको आयोजना गरेको नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.