बैतडी : नेपालमा व्यवसायीक कफी खेतीको शुभारम्भ गरिएको छ। बैतडी पुगेर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले व्यवसायीक कफी खेतीको शुभारम्भ गरेका हुन्। युरोपियन युनियनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालमा यस वर्षदेखि कफी खेती शुभारम्भ गर्ने कार्यक्रम अन्तरगत बैतडीबाट यस कार्यक्रमको शुभारम्भ गरिएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जानकारी दिनुभयो।
कफी समुद्री सतहको ८ सयदेखि १६ सय मिटरको उचाईमा फल्ने भएकाले नेपालमा यसको राम्रो सम्भावना रहेको सहसचिव अधिकारीले बताउनुभयो। बैतडीबाट यस कार्यक्रमको सुरुवात गरिएको र देशका अन्य जिल्लाहरूमा पनि यो कार्यक्रमको थालनी गरिने सहसचिव अधिकारीले बताउनुभयो।
बैतडीको पाटनमा कफी खेती रोपण कार्यक्रमको शुभारम्भ गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कफी खेतीको विकास प्रशोधन र प्रवद्र्धन गरी आयआर्जन र गरिबी न्युनिकरणमा ठोस उपलब्धी हासिल गर्न यस कार्यक्रमबाट टेवा पुग्ने विश्वास व्यक्त गरे।
‘नेपालमा कफीको माग विस्तार भइरहेको छ,नेपालमा घरेलु उत्पादनबाट अपूर्ति हुन सकेको छैन,’मन्त्री भण्डारीले भने,‘कफीको बजारीकरणमा कुनै समस्या हुँदैन, उत्पदानलाई व्यवासायिक र परिणामयुक्त बनाउन आवश्यक देखिएको छ। पहिलो चरणमा बैतडीको पाटन नगरपालिका र डिलासैनी गाउँपालिकामा नमुनाको रुपमा यो कार्यक्रम कार्यान्वयन हुने बताइएको छ।