बैतडीको शिवनाथमा खुल्ने क्याम्पसको नाम शिवनाथ नै राखिने

बैतडीको शिवनाथ गाउँपालिका २ शर्मालीमा सञ्चालन गरिएको ग्राम प्रकाश बहुमुखी क्याम्पसको नाम परिवर्तनका लागि पहल शुरु गरिएको छ। उक्त क्याम्पसको नाम शिवनाथ बहुमुखी क्याम्पस राख्ने गरेर तयारी भइरहेको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए।

त्रिभुवन विश्वविद्यालयले नयाँ क्याम्पस सञ्चालनका लागि स्वीकृति नदिँदा जलजला पर्वतमा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसको ठाउँ सारी शिवनाथमा क्याम्पस सञ्चालन गरिएको हो। त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको गएको फागुन ९ गतेको निर्णय अनुसार ग्राम प्रकाश बहुमुखी क्याम्पसको ठेगाना शिवनाथ गाउँपालिका २ शर्माली कायम गरिएको थियो।

बिहीबार क्याम्पस सञ्चालक समितिको बैठक बसेर क्याम्पसको नाम परिवर्तनका लागि त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्ने निर्णय भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष दशरथ चाडले बताए। क्याम्पसको विधान संशोधन गर्ने निर्णय पारित गर्दै नाम परिवर्तनका लागि विश्वविद्यालयलाई आग्रह गर्ने निर्णय भएको उनले बताए।

ग्राम प्रकाश बहुमुखी क्याम्पसमा यो बर्षदेखि शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा पठनपाठन शुरु गरिएको छ  स्वास्थ्य बिषयको पठनपाठनका लागि पनि विश्वविद्यालयबाट अनुमति लिने निर्णय गरिएको छ।

ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई आफ्नै ठाउँमा उच्च शिक्षा हासिल गर्न सहज होस भनेर क्याम्पस सञ्चालनमा ल्याइएको क्याम्पस प्रमुख महामलसिंह साउँदले बताए। शर्मालीमा क्याम्पस सञ्चालनमा आएसंगै विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसेकका विद्यार्थीहरुलाई सहज भएको छ।

क्याम्पस स्थापनाका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा १० लाख सहयोग गरेको छ। आगामी दिनमा समेत क्याम्पसका लागि पालिकाले निरन्तर सहयोग गर्ने गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए।

Leave A Reply

Your email address will not be published.