बैतडीमा लडेर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका ४ स्थित भुमेश्वर मावि ठाँडमा कक्षा ९ मा अध्ययनरत १४ बर्षीय प्रकाश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
पाटन नगरपालिका ४ बथ्थी घर भएका विक गएको शुक्रबार विद्यालयमा कुर्सी बाहिर ल्याउने क्रममा लडेर घाइते भएका थिए । छातीमा चोट लागेका विकलाई सोही दिन डडेल्धुरा अस्पताल पुर्याएको र अस्पतालबाट घर ल्याएपछि उनको शनिबार बिहान मृत्यु भएको बताइएको छ।
अस्पतालबाट उपचार गरेर फर्केका विकलाई शनिबार बिहान असहज भएपछि पाटनस्थित डिएस पोलिक्लिनिकमा पुर्याएपनि उनको सोही ठाउँमा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।