भारतको कर्नाटकमा बैतडीका दाजुबहिनीको शङ्कास्पद मृत्यु

भारतमा नेपाली दाजुबहिनीको शङ्कास्पद मृत्यु भएको छ। बैतडीको पुर्चौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटक राज्यमा शङ्कास्पद मृत्यु भएको हो।

कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको गत शनिबार शङ्कास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिए। “दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अपवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्”, धामीले भने, “दुवैको शरीरमा चोटपटक देखिन्छ।”

बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब छ महिनाअघि मात्रै भारत गएका थिए। दुवैको शव स्थानीय अस्पतालमा राखिएको उनको भनाइ छ। घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता रहेको बताइएको छ।

“सोमबार नै आफन्तको जिम्मा लगाएर शव दाहसंस्कार गर्ने योजना थियो”, धामीले भने, “तर, अझै शव अस्पतालमै छ।” मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.