अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रको आधारमा नियुक्ति लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ। देवल उच्च माध्यमिक विद्यालय दिव्यपुर डडेल्धुराका तत्कालीन प्रावि शिक्षक मदनराज पन्तविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । पन्तको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा उनले सम्पूर्णान्द संस्कृत विश्वविद्यालय यूपी भारतबाट जारी भएको पूर्वमध्यमा तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्राथमिक तहको शिक्षक पदमा नियुक्ति लिएको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।
आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ।