डडेल्धुराको अजयमेरुले ल्यायो ४८ करोड ३१ लाख बजेट  

डडेल्धुराको अजयमेरु गाउँपालिकाले ४८ करोड ३१ लाख ७२ हजार रुपैयाँको बजेट ल्याएको छ। सोमबार गाउँपालिका उपाध्यक्ष बसन्ती पालले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि उक्त बजेट गाउँसभाको १४औँ अधिवेशमा प्रस्तुत गरेकी हुन्।

जसमध्ये चालु खर्चतर्फ रु ८ करोड ९२ लाख, विविध तथा पुँजीगततर्फ रु ११ करोड १७ लाख ९५ हजार विनियोजन गरिएको छ। संघीय र प्रदेश सरकारबाट प्राप्त सर्शत समपूरक र विशेष अनुदान कार्यक्रमबाट चालु तथा पुँजीगत खर्च रु २८ करोड १६ लाख ७७ हजार हुने अनुमान गरिएको उपाध्यक्ष पालले बताइन्।

गाउँपालिकाले भौगोलिक अवस्था, जनसंख्या र जीवनस्तरलाई आधार मानेर वडा नम्बर १ मा रु २५ लाख ५५ हजार, वडा नं २ मा २९ लाख ३२ हजार, वडा नं ३ मा २५ लाख २५ हजार, वडा नं ४ मा २५ लाख ५८ हजार, वडा नं ५ मा २७ लाख ४८ हजार र वडा नं ६ मा २५ लाख ९८ हजार विनियोजन गरेको छ। साथै सबै वडामा समानुपातिक हिसाबले योजना तथा कार्यक्रमहरू सञ्चालन गर्न एकमुष्ट रु ८६ लाख विनियोजन गरिएको छ।

अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट रु ३४ लाख, अन्यबाट २ करोड ४१ लाख ९३ हजार, नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरणबाट रु ८ करोड ४१ लाख, नेपाल सरकारबाट राजश्च बाँडफाँड भई प्राप्त हुने रु ८ करोड ४१ लाख, नेपाल सरकारबाट प्राप्त शर्सत अनुदान रु २३ करोड ७६ लाख ९७ हजार, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरणबाट रु ६८ लाख २ हजार प्रदेश सरकारबाट राजध बाँडफाँड भई प्राप्त हुने रु १७ लाख, प्रदेश सरकारबाट प्राप्त शर्सत अनुदान रु ५८ लाख ३० हजार रहने जनाइएको छ।

साथै प्रदेश सरकारबाट समपूरक अनुदानबाट रु ७६ लाख ५० हजार र विशेष अनुदानबाट ७० लाख, संघीय सरकारबाट विशेष अनुदानबाट १ करोड ५ लाख र संघीय सरकार समपूरक अनुदानवापत रु १ करोड ३० लाख प्राप्त हुने अनुमान गाउँपालिकाले गरेको छ।

गाउँपालिकाको नीति तथा कार्यक्रम केहीदिनअघि अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले प्रस्तुत गरेका थिए। गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए।

अजयमेरुले चालु आर्थिक वर्षभन्दा बजेट बढाएर ल्याएको हो। चालु आवका लागि गाउँपालिकाले ४५ करोड ३९ लाख ६ हजारको बजेट ल्याएको थियो।

Leave A Reply

Your email address will not be published.