आज साउन महिनाको अन्तिम सोमबार। पशुपतिनाथको मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
यता काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। साउने सोमबारको व्रत बस्ने र पूजा गर्न आएका भक्तजन तथा बोलबम यात्रुको भीड लागेको हो। साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउन भक्तजन आउने गर्दछन्।
भक्तजन दर्शनार्थीका लागि बिहानैदेखि मन्दिरमा सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको बताइएको छ।
यस्तै आज पशुपतिनाथका साथै गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत देशभरका शिवालयमा दर्शन गर्ने तथा पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ।