जिल्ला अस्पताल बैतडीको स्तरोन्नतीको माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र

बैतडी-जिल्ला अस्पताल बैतडीलाई स्तरोन्नती गर्नुपर्ने माग गर्दै बैतडीका स्थानीयले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएका छन्।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मामार्फत मुख्यमन्त्री कमलबहादुर शाहलाई अस्पताल स्तरोन्नतीको माग गर्दै बुधवार ज्ञापन पत्र बुझाएको महेशदत्त भट्टले बताउनुभयो । ५० बर्ष पहिला स्थापना भएको अस्पतालले अहिले समेत विशेषज्ञ सेवा दिन नसकेको स्मरण गराउँदै अस्पताल स्तरोन्नतीको माग गरिएको उनले बताउनुभयो ।

उनले भने ‘२०३३ सालमा स्थापना भएको अस्पतालमा अझै पनि आधारभूत सेवा पाउन मुस्किल छ। स–साना रोगको उपचारका लागि पनि भारतको पिथौरागढ धाउनुपर्ने बाध्यता छ। प्रदेश सरकार अहिले बजेट निर्माणको चरणमा रहेकाले हामीले अस्पताल स्तरोन्नतीको माग गरेका हौं।’

मुख्यमन्त्री शाहलाई बुझाइएको पाँच बुँदे ज्ञापन पत्रमा जिल्ला अस्पताल बैतडीलाई ५० शैय्याको अस्पताल सञ्चालनको स्वीकृत दिनुपर्ने माग गरिएको छ। अस्पतालसंग आवश्यक भौतिक संरचना भएकाले ५० शैय्याको अस्पताल सञ्चालनको स्वीकृती दिनुपर्ने माग गरिएको हो।

Leave A Reply

Your email address will not be published.