येन बद्धो बलि राजा दानवेन्द्रो महाबल ।
तेन त्वांमभि बध्नामि रक्षे मा चलमा चल।।
पौराणिक कथा अनुसार देवराज ईन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो।यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए। पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे।
यसरी गौरवहीन जीवनदेखि देवराज ईन्द्र बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिनुहुन्छ। त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो। अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन ईन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमूहूर्तमा ईन्द्रलाई मन्त्रद्वारा रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए।
त्यसै दिन देखि आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने र जनै फेर्ने प्रचलन रहेको छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ। जनै पुर्णिमा तथा रक्षा बन्धनको दिन पबित्र तिर्थस्थल धाममा नुहाएर रक्षा बिधान तथा जनै फेर्न बढि उपयुक्त हुने शास्त्रमा उल्लेख छ।
प्रेम राज पन्त
पुजारी गंगेश्वर धाम, अजयमेरु गाँउपालिका–०६ सिम दोगडा डडेल्धुरा