मेलौली -१ लाई मदिरा निषेधित वडा घोषणा गरिदैं

बैतडी-जिल्लाको मेलौली नगरपालिका वडा न -१ लाई पूर्ण मदिरा निषेधित वडा घोषणा गरिने भएको छ ।भाद्र ८ गते वडा कार्यालयमा बसेको राजनीतिक दल, समाजसेवी, बुद्धिजिवि, युवाक्लव, बालसमुह, महिला समुह लगायतको सर्वपक्षीय बैठकबाट मदिराको कारण सामाजिक शान्ति सुव्यवस्था कायम गर्न वडालाई मदिरा निषेधित घोषणा गर्ने निर्णय गरेको वडाध्यक्ष शरद सिंह नेगीले बताउनुभयो ।
मदिराका कारण महिला तथा बालबालिका माथि हुने हिंसामा वृद्धि भएको, सामाजिक अपराधहरु बढ्दै गएकाले मदिरा निषेधित वडा घोषणा गरिन लागेको वडा अध्यक्ष नेगीले बताउनुभयो । वडा स्तरमा नेपाल सरकारबाट मदिरा बिक्रीका लागि लिईएका इजाजत पत्रहरु यहि भाद्र मसान्त सम्म वडा कार्यालयमा बुझाउन समेत अनुरोध गरिएको वडा कार्यालयले जनाएको छ।
मदिरा मुक्त अभियानमा सुरक्षाकर्मी, प्रशासन, जनप्रतिनिधि, दल, नागरिक समाज, महिला, युवा, होटल व्यवसायी, ब्यापारीहरुको सहयोग रहेको वडा कार्यालयले जनाएको छ ।यस घोषणाबाट मदिरापानका बोतलबाट हुने प्रदूषणबाट पनि क्षेत्र मुक्त हुने र वडाकोे सौन्दर्यमा बढोत्तरी नै आउने अपेक्षा गरिएको छ ।
साथै मदिरा पसल संचालन गरिरहेका व्यवसायीहरुले वडामा ईजाजत पत्र बुझाएपछि प्रोत्साहन स्वरुप अन्य व्यावसाय संचालन गर्नका आगामी आर्थिक बर्ष २०८२÷०८३ मा जनही २ लाख रुपँैयाका दरले अनुदान समेत दिईने बताईएको छ ।मदिरा निषेधित क्षेत्रमा कसैले मदिरा बिक्री वितरण गरेको पाईएमा आवश्वक कारवाही हुने समेत बताईएको छ । मदिरा नियन्त्रणमा सबै वडाबासी लगायत सरोकारवालाको सिर्जनात्मक सहयोग रहे सामाजिक शान्ति र महिला हिंसा नियन्त्रण हुन सक्ने छ ।

 

Leave A Reply

Your email address will not be published.