आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज केही ठाउँको मौसम खुले पनि पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ।

यस्तै कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकोले अझै केही दिन मौसममा खासै सुधार नहुने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनु भयो। अहिले पनि कोशी र गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसमविद् पुडासैनीका अनुसार भोलि र पर्सि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका ठूलो वर्षाको सम्भावना रहेको छ। भारतको छत्तीसगढ आसपास बनेको न्यूनचापीय प्रणालीको असरले भोलि र पर्सि पूर्वमा भन्दा पश्चिम ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.