सुदूरपश्चिम प्रदेश सरकारले सोमवार फेरि बजेट ल्याउने

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि फेरि बजेट ल्याउने भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले आ पत्रकार सम्मेलन गरेर सोमवार बजेट ल्याउन लागेको जानकारी गराउनुभएको हो। यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट ल्याउन लागेको उहाँले बताउनुभयो।

यसअघि नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घ सोडारी नेतृत्वको प्रदेश सरकारले असार १ गते चालू आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको थियो । प्रदेश सभाबाट बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेपछि बजेट प्रदेश सभामा अलपत्र परेको छ।

मुख्यमन्त्री शाहले यसअघि सदनमा प्रस्तुत भएको बजेटमै सामान्य पुनरावलोकन गरेर नयाँ बजेट ल्याउने तयारी गरिएकोे बताउनुभयो। प्रदेश सरकारले योजनाका लागि २५ लाख भन्दामाथिको सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र औचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा पालिकालाई वित्तीय हस्तान्तरण गर्ने तय गरेको छ।

त्यस्तै प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरेको पनि मुख्यमन्त्री शाहले बताउनुभएको छ।

यसअघि ल्याएको बजेट पारित नहुँदा प्रदेश सरकार उधारोमा काम गरिरहेको छ। समयमा बजेट नआउँदा प्रदेश सरकारका योजना ठप्प छन्। प्रदेश सरकार मातहतका कर्मचारीले तलबसमेत पाउन सकेका छैनन्।

Leave A Reply

Your email address will not be published.