देशका धेरै ठाउँमा हिजोदेखि नै घनघोर वर्षा भइरहेको छ। आज दिनभर यसैगरी पानी परिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सबैजसो ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा घनघोर वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिनभर कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा भने घनघोर वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ। लगातार वर्षा भइरहेको ठाउँका नदी र खोलामामा बाढी आएको छ।
अरू ठाउँमा पनि जोखिम रहेकाले नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
भोलिदेखि भने मौसममा सुधार आउने र घाम लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो। उहाँका अनुसार मनसुन कायमै रहेकाले भोलिदेखि पनि सामान्य पानी पर्ने सम्भावना त छ तर हिजो र आजजस्तो लगातार र ठूलो पानी पर्ने सम्भावना भने छैन।