बैतडीमा पहिलोपटक क्रिकेटको टर्फ पिच हुँदै

बैतडी-नेपाल क्रिकेट संघ(क्यान)को सहयोगमा बैतडीमा पहिलोपटक टर्फ पिच निर्माण भइरहेको छ। यहाँको दशरथचन्द खेलमैदान,सुन्दरखालीमा टर्फ पिच निर्माण भइरहेको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले बताउनुभयो।

उहाँले भन्नुभयो,”नेपाल क्रिकेट संघको सहयोगमा पहिलोपटक सुन्दरखालीमा टर्फ पिच निर्माण भइरहेको छ।,एकमहिनामा निर्माण गरिसक्ने लक्ष्य छ। पिच निर्माणपछि जिल्ला र प्रदेशस्तरीय प्रतियोगिता सञ्चालनमा पनि सजिलो हुन्छ।”

क्यान पिच निर्माणका लागि एकजना क्युरेटर समेत पठाएको छ। सातवटै प्रदेशको एकरएक मैदानमा टर्फ पिच बनाउने क्यानको निर्णयअनुसार सुन्दरखालीमा टर्फ पिच निर्माण भइरहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टले बताउनुभयो। उहाँले भन्नुभयो,” पिच निर्माणका लागि क्यानले क्युरेटरका रूपमा रमेश ओडलाई पठाएको छ। एकमहिनाभित्रै निर्माण गरिसक्ने लक्ष्य रहेको छ।”

सुन्दरखाली मैदानमा दुईवटा टर्फ पिच बनिरहेका हुन्। बैतडी जिल्ला क्रिकेट संघले सञ्चालन गर्ने यसपछिका सबै प्रतियोगिता सुन्दरखालीमा टर्फ पिच हुने जनाएको छ।
टर्फ पिच निर्माणपछि यहाँ प्रतियोगिता सञ्चालन हुँदा खेलाडीलाई निकै फाइदा पुग्ने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताउनुभयो।

ग्रास रूट तथा जिल्लास्तरबाटै टर्फ पिचबाट खेलेको खेलाडीले माथिल्लो लेभलको क्रिकेट खेल्दा आत्मबल बढ्ने गर्दछ। उहाँले भन्नुभयो,” हाल जिल्ला तथा प्रदेश छनोटमा खेलाडीहरू म्याटमा खेल्ने गर्दछन् तर राष्ट्रिय स्तरको प्रतियोगिता टर्फ पिचमा हुन्छ,यहाँ म्याटमा खेलेका खेलाडीलाई एक्कासी टर्फमा खेल्न समस्या हुने गर्दछ।”

जिल्लास्तरबाटै टर्फपिचमा खेलेर राष्ट्रिय प्रतियोगितामा हुने टर्फ पिचको मानसिक दबाब नहुने प्रशिक्षक चन्दको भनाइ छ । उहाँले भन्नुभयो,” राष्ट्रिय स्तरको प्रतियोखेलामा खेलाडीलाई टर्फ विकेटको प्रेसर हुने,अनइजी फिल हुने गर्दथ्यो, अब टर्फको फुल अनुभव हुनेछ। मेन्टली प्रेसर नहुनुका साथै टर्फ विकेटको कन्फिडेन्स पनि बढ्नेछ। ग्रासरूटमै यस्तो पिच बन्दा कन्फिडेन्स लेभल बढ्ने, खेल पनि स्टेन्डर हुने विश्वास छ।”

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक क्यानको मातहत रहेको मैदानमा टर्फ पिच बनिरहेको हो।
यसअघि प्रदेशका विभिन्न स्थानमा रहेको मैदानमा टर्फ पिच बनेपनि कुनै एक प्रतियोगिता सञ्चालनका लागि बन्ने पछि मर्मतसम्भार र संरक्षण हुन सकेका थिएनन्।
सुन्दरखालीमा टर्फ पिच बनेपछि क्रिकेट संघले मर्मत र संरक्षण गरेर दीर्घकालीन रूपमा प्रतियोगिता सञ्चालनका लागि योग्य बनाइने दाबी बैतडी जिल्ला क्रिकेट संघको रहेको छ।

टर्फ पिच बन्दा क्रिकेटमै भविष्य खोजिरहेका खेलाडी पनि उत्साहित र खुसी भएका छन्।

उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका बैतडी घर भएका खेलाडी दीपक बोहरा टर्फ पिच बन्दा खुसी हुनुभएको छ। उहाँले भन्नुभयो,” टर्फ पिच बनिरहेको खबर सुन्दा खुसी भएको छु। माथिल्लो लेबलका सबै प्रतियोगिता टर्फमा हुने गर्दछन्। यसअघि जिल्ला प्रदेश छनौट म्याटमा खलेर माथिल्लो लेभलमा टर्फमा खेल्दा असहज हुने गरेको थियो। अब तल्लो लेभलबाटै टर्फमा खेलेर आउदा माथि निकै सहज हुनेछ। ”

यसअघि जिल्ला र प्रदेश छनौटमा सधै म्याटमा खेल्नुपर्ने बाध्यताको पनि अन्त्य हुने महिला क्रिकेटर रितु कनौजियाले बताउनुभयो। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पुर्वकप्तान समेत रहनुभएकी रितु भन्नुहुन्छ।,” तलदेखि माथिसम्म टर्फ पिचमै खेल्दा पक्कै पनि सहज हुनेछ। जिल्ला र प्रदेशमा म्याटमा खेल्ने राष्ट्रिय प्रतियोगिता टर्फमा खेल्दा निकै समस्या हुन्थ्यो अब यहीबाट खेलेर जादा उता कन्फिडेन्स बढ्नेछ। म्याटमा बाउन्स हुने, टर्फमा स्वीङ हुने फास्ट बलरलाई फाइदा हुनेछ।”

जिल्ला लेभलबाटै टर्फमा खेल्न पाएपछि करिअरमा सहयोग हुने क्रिकेट खेलाडी जानकी थापाको आत्मविश्वास रहेको छ। उहाँले भन्नुभयो,”क्रिकेटमै करिअर खोजिरहेका मजस्तै अन्य खेलाडीले जिल्लास्तरबाटै टर्फमा खेल्दा माथिल्लो लेभलका गेमहरू खेल्दा पक्कै पनि सजिलो हुनेछ। हामी यता म्याटमा खेलेका हुन्छौं, एक्कासी मूलपानी, टियुमा खेल्न जाँदा हामीलाई त्यसको अनुभव हुदैन। यसरी हामीले टर्फमा अहिलेदेखि खेल्न पायौं भने उता गएर पनि राम्रो खेल्न सहयोग पुग्छ।”

उमेर समूहकै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी खडक बोहरा पनि गृहजिल्ला बैतडीमा टर्फ पिच बन्दा उत्साहित हुनुभएको छ। उहाँले भन्नुभयो,” ग्रास रूटबाटै टर्फपिचको अनुभवले माथिल्लो लेभलको क्रिकेट खेल्न निकै सहजता ल्याउनेछ ।”

क्रिकेटको मुख्य आधारशिला जिल्लास्तर नै रहेकोले नेपाल क्रिकेट संघले पनि जिल्लाबाटै क्रिकेट विकासमा ध्यान दिएको जनाएको छ।
ग्रासरूटबाटै क्रिकेटको विकासका काम भइरहेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो,” ग्रासरूटबाटै क्रिकेटको विकासका लागि खेल पूर्वाधार निर्माण र उमेर समूहका प्रतियोगिता सञ्चालनमा हामीले जोड दिएका छौं।यसमा जिल्ला र प्रदेशले पनि गम्भीर हुनुपर्छ । क्यानले गर्ने सहयोगमा कमी हुदैन ।”

Leave A Reply

Your email address will not be published.