आजदेखि एभरेष्ट महिला भलिबल लिग हुदैँ

नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) आजदेखि हुँदैछ। इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग हुन लागेको हो।

लिगमा मधेश युनाइटेड, काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यशविस गरी ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज लिगले खेलाडीलाई उत्साहित बनाएको र यसले नयाँ खेलाडीको उत्पादनमा सहयोग पुग्ने पनि प्रशिक्षक र कप्तानहरुको भनाइ छ।

लिगकालागि राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीलाई चितवनले, सरस्वती चौधरीलाई गण्डकी, सलिना श्रेष्ठलाई ललितपुरले, निरुता ठगुन्नालाई मधेशले उषा भण्डारीलाई काठमाडौँ र सुमित्रा रेग्मीलाई कर्णालीले कप्तान (मार्की प्लेअर) बनाएको छ।

असोज १९ गतेसम्म दशरथस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने लिगमा हरेक टोलीमा १२ खेलाडी हुनेछन्। जसमा तीन जना विदेशी खेलाडी अनिवार्य गरिएको छ। चर्चित विदेशी खेलाडीको साथमा नेपाली खेलाडीले खेल्न पाउने हुँदा यस लिगले नेपाली टोलीको प्रदर्शनमा समेत सुधार आउने अपेक्षा गरिएको छ। प्रत्येक टोलीमा ‘ट्यालेन्ट हन्ट’ बाट आएका एक एक जना यु्वा खेलाडीलाई समेत मौका दिईएको छ।

Leave A Reply

Your email address will not be published.