मेलौलीमा बजार अनुगमन : एक लाख बढीको अखाद्य वस्तु नष्ट

बैतडी: चाडपर्वसँगै किनमेल गर्नेहरुको भीडभाड बजारमा विस्तारै बढनेक्रम सुरु भएको छ।खाद्यान्न देखि लत्ताकपडा, नुनदेखि सुन पसलहरुमा उपभोक्ताको भिड बढ्ने क्रमसँगै महँगी बढने र म्याद गुज्रेका सामानहरु विक्री गर्ने भएकाले मेलौली नगरपालिकाले बजार अनुगमनको काम तीव्र बनाएको छ।

दसैँ-तिहारमा हुन सक्ने कृत्रिम अभाव म्याद गुज्रेका अखाद्य वस्तु र अस्वाभाविक मूल्यवृद्धि कालोबजारी लार्ई नियन्त्रण गर्न बजार अनुगमन गरिएको हो।नगरपालिकाको मर्छले, काँडा, हरिपुर, जिरोपोईनन्ट, लामालेक, सलेना,  दुर्गास्थान, कपर्त, स्यालतडी, बागोठ लगायतका ठाउँमा गरिएको अनुगमनका क्रममा १ लाख १ हजार १ सय २५ बराबरको अखाद्य वस्तु नष्ट गरिएको नगर उपप्रमुख तथा बजार अनुगमन समिति संयोजक पार्वती बोहरा विष्टले बताउनुभयो।

अनुगमनका क्रममा अखाद्य वस्तु, म्याद नाघेका खाद्य सामग्री, मूल्यसूची नभएका, लेवल नलगाएका सामग्री फेला परेको अनुगमन समितका संयोजक विष्टले बताउनुभयो। बजार अनुगमनको क्रममा पालिकामा व्यवसाय दर्ता भए–नभएको, कर तिरे-नतिरेकोलाई पनि सचेत गराइएको बताउनुभयो।

म्याद नाघेका सामग्री बिक्री वितरणमा कमी ल्याउन,खाद्य अधिकारका बारेमा व्यापारी तथा उपभोक्तालाई जागरुक बनाउनका लागि बजार अनुगमन गरिएको उनले बताउनुभयो। उनका अनुसार अनुगमनका क्रममा मिठाइ , चाउचाउ, चिउरा, बिस्कुट, तेल, पिठो लगायतका म्याद नाघेका सामग्री बरामद गरि नष्ट गरिएको हो।

अनुगमनका क्रममा कतिपय पसलेले अझै पनि पसल दर्ता नगरेको, उपभोक्ता तथा व्यवसायीले खाद्य वस्तुको उत्पादन मितिका बारेमा चासो नदिने गरेको लगायतका समस्या देखिएका छन। अनुगमन गर्दा धेरै जसोमा मूल्य सूची पनि नराखेको पाइएकाले मूल््य सूची राख्न निर्देशन दिइएको जनाएको छ।

अनुगमनलाई अझै नियमित गर्न स्थानीयबासीले माग गरेका छन। चाडपर्वका बेला मात्रै नभएर अन्य समयमा पनि बजार अनुगमन गर्नुपर्ने व्यापारीहरुको भनाइ छ। ईलाका प्रहरी कार्यालय तस्व देहीको नेतृत्व र मेलौली नगरपालिकाको संयोजनमा बजार अनुगमन अनुगमन गरेको हो।

लेबल विवरण नभएका खाद्य पदार्थ बिक्री–वितरण नगर्न, सरसफाइमा विशेष ध्यान दिन, खाद्यवस्तु खरिद–बिक्री गर्दा लेबल अनिवार्य हेर्न, स्टोर तथा भण्डार व्यवस्थित गरी सफा राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ छुट्टै भण्डारण गर्न, पकाएको खाद्यपदार्थ छोपेर राख्न, पत्रिकामा खाद्य पदार्थ नराख्न, कीट नियन्त्रण गर्न र अनुमतिपत्र नलिई खाद्य व्यवसाय सञ्चालन नगर्न निर्देशन दिइएको छ।

अबका दिनमा अनुगमनको क्रममा पसल दर्ता नगरेका, म्याद गुज्रेका तथा गुणस्तरहीन वस्तु बिक्रीवितरण गर्ने व्यापारीहरुलार्ई जरिवाना गरिने नगरपालिकाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.