असोज शुक्ल सप्तमीका दिन आज दुर्गापीठ, दशैँघर, कोत तथा घर–घरमा फूलपाती भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ । हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।
नवपत्रिकाको नामलेसमेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवम् धर्मशास्त्रविद् प्राध्यापक डा। रामचन्द्र गौतमले बताउनुभयो । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने उहाँको भनाइ छ ।
घटस्थापना गरी जमरा राखेपछि शुरु हुने दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ। आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा सङ्लग्न मानिस स–परिवार बसेर टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम बढ्ने गर्छ ।