उत्तरी इजरायलमा ड्रोन आक्रमण, चार सैनिक मारिए, ६० घाइते

उत्तरी इजरायलस्थित सेनाको ‘बेस’लक्षित ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु भएको छ। कम्तीमा ६० जना घाइते भएका छन्।

इजरायलको रक्षा बल ९आईडीएफ० काअनुसार हाइफाको दक्षिणमा २० माइल टाढा रहेको शहर बिन्यामिनाको छेउमा रहेको ‘बेस’मा भएको आक्रमणमा सात सैनिक गम्भीर घाइते भएको आईडीएफले जानकारी दिएको हो।

तेल अभिभ र हाइफाको बिचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरिएको थियो। आईडीएफका अनुसार ड्रोन हमला साँझ भएको हो। इजरायली सञ्चारमाध्यमका अनुसार सैन्य बेसभित्र एउटा डाइनिङ हललाई निशाना बनाइएको थियो।

हिजबुल्लाहले आक्रमणको जिम्मेवारी लिएको छ। सशस्त्र समूहको मिडिया कार्यालयले बिहीबार दक्षिणी लेबनान र बेरुतमा इजरायली आक्रमणको जवाफमा आक्रमण गरेको बताएको छ। समूहले उत्तरी इजरायलमा रहेको शिविरलाई ‘ड्रोनको झुण्ड’ प्रयोग गरेर निशाना बनाएको बताएको छ।

आईडीएफ प्रवक्ता ड्यानियल हगारीले ड्रोन इजरायल प्रवेश गर्दा कुनै चेतावनी साइरन नबजेको विषयमा अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका छन्।

इजरायल प्रवेश गरेको दुई ड्रोनलाई इजरायली राडारले ट्र्याक गरेको थियो र एउटा हाइफाको उत्तरी तटमा खसालिएको थियो। इजरायली वायुसेनाका विमान र हेलिकप्टरले दोस्रो ड्रोनलाई पछ्याए पनि ती राडारबाट गायब भएका थिए।

यो जमिनको धेरै नजिक उडेकाले इजरायली सेनाले पत्ता लगाउन नसकेको अनुमान गरिएको छ।

Leave A Reply

Your email address will not be published.