बैतडी -कुलगडे क्रिकेट क्लब,बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा प्रवेश गरेको छ।
कुलगडे समूह डी बाट सुपर सिक्समा प्रवेश गरेको हो । यसअघि समूह ए बाट पाटन भ्याली क्रिकेट क्लब पनि सुपर सिक्समा सुरक्षित भइसकेको छ।
आज भएको खेलमा दिपचन क्रिकेट क्लबलाई ७५ रनले पराजित गर्दै दोस्रो जितका साथ कुलगडे सुपर सिक्समा प्रवेश गरेको हो ।
कुलगडेले दिएको २०१ को रनको लक्ष्य पछ्याएको दिपचनले १९।१ ओभरमा १२५ रनमा सिमित भयो। आकाश भट्टराईले २१ तथा अमन रावलले २० रन जोड्न बाहेक अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।कुलगडेका केशव बोहरा र पंकज लुहारले समान तीन तीन विकेट लिए ।
यसअघि श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको कुलगडेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०० सय रन बनाएको थियो । कुलगडेका पंकज लुहारले ५२, नविन ठगुन्नाले ४० रन बनाएका बनाए।दिपचनका प्रकाश चन्द र शंकर टेलरले समान दुई दुई विकेट लिए । कुलगडेका पंकज म्यान अफ द म्याच भएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।
यस्तै आजै भएको दोस्रो खेलमा आयोजक पाटक क्रिकेट क्लबले नवजागृति क्रिकेट क्लबलाई हराएको छ। पहिला ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २२० रन बनायो।जसमा सुमित बुडालले ६६ र दीपक बोहराले ४७ रनको योगदान गरे ।
नवजागृतीका सचिन विक र मोहन ठगुन्नाले २र२ विकेट झारे।जवाफी ब्याटिङमा नवजागृति ३६ रनमा अलआउट भयो। उसका कुनै पनि ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।पाटनका सुभाष विष्टले ५ विकेट हात पारे ।सुभाष प्लेयर अफ द म्याच पनि चुनिए ।
पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ। सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन्।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग ९पिपिएल० क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय ९बिडिपिआइ० र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।