बैतडी: नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली घोषणा गरिएको छ। हेमन्त धामीको कप्तानीमा १४ सदस्यीय टोली गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिनुभयो।
टोलीको उपकप्तानमा नरेन भट्ट,अन्य सदस्यहरूमा नरेन साउद,सचिन भट्ट,कैलाश ऐर,युवराज खत्री, अशोक धामी,अभिषेक थापा ,आषिश लुहार,आयुश द्वारिया,प्रकाश पाण्डेय,दिपक रोकाया,दिपेश बोहरा र राजेश ऐर छनौट भएका छन्।
यस्तै खगेन्द्र महरा,सुमित बुडाल,कृष शाही र शौर्य श्रेष्ठ वैकल्पिक खेलाडीको रूपमा रहेका छन्। कात्तिक ४ गतेदेखि फाप्ला मैदानमा २४ खेलाडी बन्द प्रशिक्षणमा रहेका थिए।
बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी अन्तिम १४ मा अटाएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनौटकर्ता दीपेन्द्र भण्डारीले बताउनुभयो। यसअघि डडेल्धुराको परशुराममा सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो।
नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता कात्तिक १० गतेदेखि विराटनगरमा हुदैछ। सुदूरपश्चिमले पहिलो खेल कात्तिक १२ गते लुम्बिनी प्रदेशसंग खेल्नेछ।
राष्ट्रिय प्रतियोगितामा सातैवटै प्रदेशका टोली सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो। शिर्ष दुई टोली कात्तिक २१ गते फाइनलमा भिड्नेछन्।
