तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग जारी, सेमिफाइनल समीकरण पूरा

बैतडीको दोगडाकेदार गाउँपालिका ६ मा जारी तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको सेमिफाइनल समीकरण पूरा भएको छ। आज सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलबाट बस्कोट सुपर किङ्स बी सेमिफाइनल पुगेको छ।

बस्कोटले शुसितम युवा क्लब बी टिमलाई २ विकेटले हरायो। शुसितमले दिएको ११३ रनको लक्ष्य बस्कोटले १४।२ ओभरमा ८ विकेटको क्षतीमा पूरा गर्यो। यसअघि पहिला ब्याटिङ गरेको शुसितमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रन बनायो।

आजै बिहान हुने भनिएको अर्को क्वाटरफाइनल खेलमा चम्तडी स्टार उपस्थित नभएपछि वाक ओभर पाएर आयोजक शुसितम युवा क्लब ए टिम अन्तिम चारमा सुरक्षित भयो। हिजो सम्पन्न दुई क्वाटरफाइनलबाट बस्कोट सुपर किङ्स ए र हुनैनाथ मालिकार्जुन क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरिसकेका छन्।

यसैबीच सेमिफाइनल खेलहरू आइतबार हुनेछन्। पहिलो सेमिफाइनलमा बस्कोट सुपर किङ्स ए र हुनैनाथ मालिकार्जुन क्रिकेट क्लब भिड्दा दोस्रोमा आयोजक शुसितम युवा क्लब ए र बस्कोट सुपर किङ्स बी आमनेसामने हुनेछन्।

असोज २९ गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल कात्तिक १२ गते हुने आयोजक शुसितम युवा क्लबका सचिव जगदीश कार्कीले जानकारी दिनुभयो। उपाधि विजेता टोलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

यस्तै उपविजेता टोलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ। यसका साथै सेमिफाइनलबाट बाहिरिने टोलीहरूलाई सान्त्वना स्वरूप १०र१० हजार, सर्बोत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बोत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो। यसअघि सम्पन्न पहिलो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको उपाधि दोगडास्टार क्लब र दोस्रो आयोजक शुशितम युवा क्लबले जितेको थियो।

Leave A Reply

Your email address will not be published.