तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग : हुनैनाथ मालिकार्जुन च्याम्पियन

बैतडीको दोगडाकेदार गाउँपालिका ६ मा सम्पन्न तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा बस्कोट सुपर किङस बी टिमलाई ५ विकेटले स्तब्ध पार्दै हुनैनाथ मालिकार्जुन च्याम्पियन बनेको हो।

उपाधिसंगै हुनैनाथ मालिकार्जुनले नगद १ लाख ५५ हजार ५५५ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पायो।बस्कोटले भने ५५ हजार ५५५ ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

फाइनलमा जितका लागि पाएको ८२ रनको सामान्य लक्ष्य हुनैनाथले १०.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। जसमा दिनेश रावतले २७ र विपिन मेहरले २७ रनको योगदान गरे।

बस्कोटका करन डडालले ३ विकेट हात पारे। यसअघि पन्ज्युनयाँ खेलमैदानमा पहिला ब्याटिङ गरेको
बस्कोट १८.२ ओभरमा ८१ रनमा समेटियो। उसका सुशील शर्माले ४५ रन हिर्काए। हुनैनाथका विपिन मेहरले ३ विकेट झारे। विपिन म्यान अफ द फाइनल समेत चुनिए।

यस्तै सेमिफाइनलबाट बाहिरिएका आयोजक शुसितम युवा क्लब ए र बस्कोट सुपर किङस ए टिमले १०/१० हजार पायो। यसैबीच बस्कोट सुपर किङस ए का प्रदीप चन्द म्यान अफ द सिरिज चुनिए। उनले ११ हजार १११ पुरस्कार पाए।

बस्कोट ए शुसिल शर्मा बेस्ट ब्याटर र शुसितम युवा क्लब बी का मनोज कार्की बेस्ट बलर चुनिदै समान ७ हजार ७७७ पुरस्कार पाए। शुसितम युवा क्लब ए का सुदीप कार्की उदयीमान खेलाडी हुँदै ३ हजार ३३३ पुरस्कार पाए।

विजेता उपविजेता तथा विभिन्न पुरस्कार पाउने खेलाडीलाई दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्की,वडा नम्वर ६ का वडाध्यक्ष गोपाल कार्की,डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट,आयोजक शुसितम युवा क्लबका अध्यक्ष विरसिंह कार्कीलगायतले पुरस्कार वितरण गरे।

समापन समारोहमा बोल्दै दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले पालिकाले खेल क्षेत्र प्राथमिकता राखेको बताउदै प्रतियोगिताले क्रिकेटको विकासमा सहयोग पुग्ने बताउनुभयो। असोज २९ गतेदेखि शुरू भएको प्रतियोगितामा १९ टोलीको सहभागीता रहेको थियो।

यसअघि सम्पन्न पहिलो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको उपाधि दोगडास्टार क्लब र दोस्रो आयोजक शुशितम युवा क्लबले जितेको थियो।

Leave A Reply

Your email address will not be published.