नेपालमा डेंगीका तीन किसिमका भाइरस सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार डेंगी भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेका छन्
नेपालमा हुम्ला जिल्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण देखिएको छ। देशभर २७ हजार एक सय ५३ जना डेंगीबाट संक्रमित भएका छन्। डेंगी संक्रमणबाट यस वर्ष १२ जनाको मृत्यु भइसकेको छ। सबैभन्दा बढी कास्कीमा सात हजार ८० जनामा डेंगी संक्रमण देखिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कात्तिक महिनासम्म लामखुट्टे सक्रिय हुने भएकाले उच्च जोखिम भएको र कात्तिकपछि जाडो महिना शुरु भएपछि लामखुट्टे हराउँदै जानेछ। डेंगी रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन भइरहेको छ।