नेपाल मौलिक संस्कृतिले भरिपूर्ण भएको राष्ट्रपतिको भनाइ

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताउनुभएको छ।

तिहार पर्वको अवसरमा आज राष्ट्रपति पौडेलले सम्पूर्णमा शुभकामना व्यक्त गर्दै सो कुरा बताउनुभएको हो। उहाँले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै नेपालमा मनाइने विभिन्न चाड पर्वहरुले विविधतालाई एकतामा बाध्ने कार्य गर्दै आएको बताउनुभयो।

राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा ‘यस्ता पर्वहरूमध्ये दसैँ तिहार हिन्दुहरूको महान् चाड पनि हो। यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाध्ने गरेको छ। बडा दशैँमा शक्तिकी श्रोत देवीको पूजा आराधना गरी मनाइन्छ भने तिहारमा काग, कुकुर, गाई‍, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा अर्चना गरी मनाइने चलन छ।’ उल्लेख छ ।

‘तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । उज्यालो आफैँमा प्रेरणाको विम्ब हो। तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्‍ने कामना गर्दछु ।’ राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्नुभयो।

राष्ट्रपति पौडेलले पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवम् वैज्ञानिक महत्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व पनि भएको बताउनुभयो।

Leave A Reply

Your email address will not be published.