किशोरी बेपत्ता प्रकरणमा हवल्दार जोशी कारागार चलान, सेवाबाट निलम्बन

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिक-२ की किशोरी बेपत्ता बनाएको आरोप लागेका प्रहरी हवल्दार कृष्णराज जोशीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ। मंगलबार जिल्ला अदालत बैतडीले हवल्दार जोशीलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

गत असोज १५ गते पञ्चेश्वर गाउँपालिका(२ डिम्मरकी १७ वर्षीया किशोरीलाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका जोशीलाई अदालतको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयो ।

पञ्चेश्वर-२ कै महाकाली प्रहरी चौकीमा कार्यरत हवल्दार जोशीले प्रहरी चौकीसँगै जोडिएको डिम्मर गाउँकी १७ वर्षीया किशोरीलाई बेपत्ता बनाएको आरोप लागेको थियो। असोज २५ गते बिहान पानी भर्न गएकी किशोरी बेपत्ता भएपछि दिउँसो स्थानीयहरूले नै हवल्दार जोशीलाई महाकाली नदीको पारीपट्टी भारतीय क्षेत्रबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।

त्यसपछि अनुसन्धान थालेको प्रहरीले आजसम्म किशोरीको अवस्थाबारे पत्ता लगाउन सकेको छैन। जिल्ला अदालत बैतडीले हवल्दार जोशीलाई पूर्पक्षको लागि कारागार पठाउन आदेश दिएको भएपनि किशोरीको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन। बेपत्ता किशोरीको खोजी भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.