सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयरसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाण्डौ – सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेमा नगरपालिकाका पूर्वमेयर गङ्गा पासवान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव रहेका विशेष अदालतले जनाएको छ।

उनीहरूलाई सजाय निर्धारणका लागि आउँदो मङ्सिर १० गतेका लागि तोकिएको छ । आयोगले गएको चैत १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा उनीहरूले अनियमितता गरेको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको थियो । आयोगले तत्कालीन मेयर पासवानसहित पाँचै जनालाई विपक्षी बनाउँदै एक करोड ८ लाख रुपैयाँ बिगो बमोजिम जरीमाना र कैद सजायको माग गरेको थियो ।

Leave A Reply

Your email address will not be published.