आज विश्व ध्यान दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवम् सामाजिक संस्थाले मनाउँदै छन्।

संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन्।

संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै ध्यान दिवस मनाउने निर्णय गरेको हो । मस्तिष्कलाई तनावमुक्त गर्न र आराम दिनका लागि ध्यान उचित प्रक्रिया र विधि मानिन्छ।

प्राचीनकालमा आश्रममा बस्ने ऋषिमुनि र योगीहरूले अभ्यास गरे पनि पछिल्लो समय जीवन विज्ञान, विपश्यना, ओमशान्ति, पतञ्जलीलगायतले शान्त र आरोग्य जीवन अपनाउन सकिने गरी जनमानसमा ध्यानको अभ्यास गराउँदै आएका छन्।

दिवसको अवसरमा विश्वव्यापी रूपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ। संयुक्त राष्ट्रसङ्घको विशेष कार्यक्रम आज अमेरिकाको न्यूर्योकमा आयोजना हुँदैछ । कार्यक्रमको प्रमुख वक्ता डा।टोनी नादर हुनुहुन्छ। उहाँ हार्वर्ड–प्रशिक्षित स्नायुविज्ञानी र भावातीत ध्यानको संस्थाका विश्वव्यापी प्रमुख हुनुहुन्छ।

नेपाल महर्षि वैदिक फाउन्डेसनका अनुसार कार्यक्रममा विश्वभरिका ध्यानीहरूले नेपाली समयअनुसार बिहान ८ बजेर ४५ मिनेटदेखि बेलुकी र ५ बजेर ४५ मिनेटसम्म ध्यान गर्नेछन्। यसबाट शान्तिको निरन्तर लहर पृथ्वीभर फैलने विश्वास गरिएको फाउन्डेसनका अध्यक्ष एवम् पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.