बैतडी : प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिता खेल्ने बैतडीको टोली सार्वजनिक गरिएको छ। बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीका अनुसार रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरिएको हो।
टोलीको उपकप्तानमा जानकी थापा,विकेटकिपरमा ममता चन्द, अन्य सदस्यहरूमा करिश्मा थापा, निर्मला रावल, ममता बोहरा, लक्ष्मी महर, आरति बोहरा, निर्मला बोहरा, रेनु पेला, रबिना बोहरा, बसन्ती बोहरा, रितु औझी र सञ्जु पेला रहेका छन्।
प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिता शुक्रबारदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा हुदैछ। बैतडीको पहिलो खेल शुक्रबार अछामसंग रहेको छ।
पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट संघमा आवद्ध प्रदेश ८ जिल्लाको सहभागीता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिनुभयो। दशरथचन्द क्रिकेट मैदानमा नेपाल क्रिकेट संघको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरिएको छ।
टर्फपीचमा खेल गराउदा खेलाडीलाई माथिल्लो स्तरमा खेल्न सहयोग पुग्ने भएकोले यहाँ प्रदेशस्तरीय छनौट प्रतियोगिता राखिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनौट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले बताउनुभयो।
प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ।