बैतडीमा जारी प्रधानमन्त्री कप महिला टि(२० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगितामा कैलालीले पहिलो जित दर्ता गरेको छ। पहिलो जित दर्ता गर्ने क्रममा कैलालीले दार्चुलालाई १० विकेटले हरायो।
जितका लागि पाएको १०२ रनको लक्ष्य कैलालीले ८।२ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो। जसमा मनिशा बोहराले अविजित ३९ र शोभा रोकायाले २८ रनको योगदान गरिन्।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको दार्चुला १९।३ ओभरमा १०१ रनमा समेटियो । उसका गिता चन्दले २० रन जोडिन्। कैलालीका हिसिला खड्काले ३, लक्ष्मी रानाले २ विकेट हात पारिन्। हिसिला प्लेयर अफ द म्याच चुनिइन्।
दुई खेलबाट पहिलो जित दर्ता गरेको कैलालीको फाइनलको सम्भावना जीवितै छ। लगातार दुई खेल हारेको दार्चुला भने प्रतियोगिताबाट बाहिरिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयोजना पुस १९ गतेदेखि सुरू भएको प्रतियोगिता पुस २५ गते सम्पन्न हुनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनौट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले बताउनुभयो।
प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ ।