प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी शुरुवात गरेको छ। धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटल हरायो।
गण्डकीले दिएको ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले नौ ओभर पाँच बलमा तीन विकेट गुमाएर भेटायो। सुदूरपश्चिमका लागि रेवती धामीले अविजित २१ रन बनाइन्। गण्डकीका आकृती तिवारी र अपेक्षा बुढाथोकीले समान एक विकेट लिए।
खराब मौसमका कारण १५ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको गण्डकीले सात विकेट गुमाएर ५५ रन बनाएको थियो। गण्डकीका लागि सबैभन्दा धेरै रेखा तापाङले १३ र कप्तान सिर्जना पौडेलले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन्। सुदूरपश्चिमकी रेवती धामीले चार विकेट लिइन्। यस्तै जानकी थापा र रितु कनौजियाले समान एक विकेट लिए।
यो जीतसँगै सुदूरपश्चिम दुई अङ्क जोड्न सफल भएको छ। प्रतियोगितामा आजै विभागीय टोली आर्मी र कर्णाली प्रदेशले खेल्दैछन्। प्रतियोगितामा सात वटा प्रदेश तथा दुई विभागीय टोली एपीएफ र आर्मी सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपीएफ क्लब रहेका छन्। समूह ‘बी’ मा कोशी, बाग्मती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन्।
राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना, नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता गरिएको हो। प्रतियोगिता यही माघ १२ गतेसम्म चल्नेछ। प्रतियोगितामा पहिलो हुनेले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन्।