कैलालीको धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरू भएको छ। फाप्ला क्रिकेट मैदानमा भएको उद्धाटन खेलमा डीसीए धनगढीलाई ८ विकेटले पराजित गर्दै फ्रेन्डर्स क्लब डडेल्धुराले शानदार सुरूवात गरेको छ।
जितका लागि पाएको १३३ रनको लक्ष्य डडेल्धुराले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। डडेल्धुराका लागि कुशल भुर्तेलले ५१ बलमा ८७ रनको अविजित पारी खेले। यस्तै विनोद भण्डारीले ४२ रन बनाए। ३ रन जोड्दा पहिलो विकेट गुमाएर सुरूवाती झड्का लागेको डडेल्धुराका लागि त्यसपश्चात विनोद र कुशलले १२१ रनको शतकीय साझेदारी गर्दै जित सुनिश्चित गरे।
धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले १/१ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। उसका लागि अमित श्रेष्ठले ३२, निरज ऐरले २७, कप्ता नारायण जोशीले १५ रन बनाए। डडेल्धुराका राहुल लुनियाले ३, कुशल भुर्तेल र रवि बिष्टले २/२ तथा हेमन्त धामीले १ विकेट लिए ।कुशल खेलका म्यान अफ द म्याच भए।
यसअघि प्रतियोगिताको एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का र नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले उद्धाटन गर्नुभएको थियो।
गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउने छन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन्। प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगितामा देशभरिबाट ८ वटा टीम सहभागी भएका छन्।