बैतडी : यही माघ २७ देखि ३० गतेसम्म पाठेघरको क्यान्सरविरुद्ध दिईने एचपिभी खोप अभियानलाई प्रभावकारी बनाउन बैतडीको मेलौली नगरपालिकाले सवैलाई आग्रह गरेको छ।
विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका किशोरीहरु र विद्यालय नजाने १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरुलाई एचपिभी खोप प्रदान गरी पाठेघरको मुखको क्यान्सर निवारण गर्नमा योगदान पुर्याउने अभियानको लक्ष्य रहेको छ।
मेलौली नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाको माघ २७ देखि ३० गतेसम्म पालिकाभित्र खोप अभियान सञ्चालन हुने जनाइएको छ। २९ गतेसम्म विभिन्न विद्यालयमा रहेका खोपकेन्द्रबाट र ३० गते खोप लगाउन छुटेकाहरुलाई सम्बन्धित वडाको स्वास्थ्य केन्द्रबाट लगाउने योजना रहेको स्वास्थ्य शाखा प्रमुख मोहन भाटले बताउनुभयो।
नगरभित्रका सामुदायिक विद्यालयका कुल १ हजार १ सय १४ जना छात्रा लाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य शाखा भाटले बताउनुभयो। उनका अनुसार खोप अभियान सञ्चालनका लागि नगरभित्र ३२ वटा खोपकेन्द्र निर्धारण गरिएको छ।
नगरभित्रका सामुदायिक विद्यालय तथा स्वास्थ्य केन्द्रलाई खोपकेन्द्र निर्धारण गरिएको हो। जसका लागि ३२ जना स्वास्थ्यकर्मी ६४ जना स्वयमसेविका परिचालन गरिने शाखामा कार्यरत राज बहादुर चन्दले जानकारी दिनुभयो।
मेलौली नगरपालिकाका उपप्रमुख पार्वती बोहरा विष्टले दोस्रो समस्याका रुपमा पाठेघरको क्यान्सर देखिएकाले यसको विरुद्ध सञ्चालन हुन लागेको खोप अभियान सफल बनाउन सवैको दायित्व हुने बताइन्।