दशौं राष्ट्रिय खेलकुद: सुदूरपश्चिमको महिला छनौट क्रिकेटमा बैतडी विजयी

बैतडी: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटको सुदूरपश्चिम छनौटमा बैतडीले विजयी सुरूवात गरेको छ। सुखद सुरूवात गर्ने क्रममा बैतडीले बझाङलाई ७७ रनले हरायो ।

जितका लागि पाएको ११७ रनको लक्ष्य पछ्याएको बझाङ ११।४ ओभरमा ३९ रनमा समेटियो। उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बझाङको पारी ध्वस्त पार्ने क्रममा बैतडीका करिश्मा थापाले ४, निर्मला रावलले ह्याट्रिकसहित ३, आरती बोहराले १ विकेट हात पारिन्। निर्मला प्रतियोगितामा ह्याट्रिक विकेट लिने पहिलो बलर बनिन्।

यसअघि धनगढीस्थित कैलालीगाउँको खेलमैदानमा पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित १२ ओभरमा ३ विकेटको क्षतिमा ११६ रन बनायो। जसमा कप्तान रितु कनौजियाले अर्धशतकीय पारी खेल्दै अविजित ५७, ममता चन्दले २१ र करिश्मा थापाले १२ रन जोडिन्। रितु प्रतियोगितामा अर्धशतक हिर्काउने पहिलो खेलाडी बनिन्।

बझाङकि तिलहरी जप्रेलले १ विकेट झारिन्। प्रदेशस्तरीय छनौटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छानिनेछन्। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ।

Leave A Reply

Your email address will not be published.