बैतडी-मेलौली नगरपालिकामा सरकारको पाठेघर क्यान्सरविरुद्धको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ।
एचपीभी खोप कार्यक्रम अन्तर्गत मेलौली नगरपालिकाले स्वास्थ्य शाखामार्फत २१ विद्यालय र ११ स्वास्थ्य संस्थामा खोप अभियान सञ्चालन गरेको थियो। नगरपालिकाले ११९४ किशोरीलाई खोप दिने लक्ष्य राखेकोमा ११८३ जनाले खोप लगाएको स्वास्थ्य शाखामा कार्यरत सि.अ.हे.ब अधिकृत राज बहादुर चन्दले जानकारी दिनुभयो ।
खोप कार्यक्रमका लागि ११९४ डोज खोप वितरण गरिएको थियो।माघ २७ गतेदेखि खोप अभियान सुरु गरेको पालिकाले बुधबार लक्षित संख्याको ९९ प्रतिशत किशोरीहरुलाई खोप लगाएको सि.अ.हे.ब अधिकृत चन्दले बताउनुभयो ।
नगर प्रमुख भीम बहादुर चन्दले अभियान सफल बनाउन अहोरात्र खटिएका स्वास्थ्यकर्मीर्, , महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय परिवार र नगरवासीप्रति आभार व्यक्त गर्नुभएको छ। साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सफल बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभएको छ।
स्वास्थ्य समस्या र घर बाहिर रहेका बाहेक सबैले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताउनुभयो ।
मेलौली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले यो खोप महिलाहरूको पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने भएकाले अहिलेको अवस्थामा ज्यादै महत्वपूर्ण रहेको भन्दै यो अभियानलाई सफल बनाउन सबै तह र तप्काबाट सहयोग भएको बताउनुभयो ।
