बैतडी- बैतडीमा निशुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुने भएको छ।
शिविर यही फागुन ११ गतेदेखी सञ्चालन हुने छ। जिल्लाका सबै स्थानिय तहहरुमा फागुन २७ गतेसम्म शिविर सञ्चालन हुन लागेको हो।सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालयले जिल्लाभरी शिविरको आयोजना गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टले जानकारी दिनुभयो ।
सबै स्थानिय तहहरुका विभिन्न स्वास्थ्य चौकीहरुमा शिविर सञ्चालन हुने उनले बताउनुभयो ।उनले सन्तानको रहर पुगिसकेका दम्पतीहरुका लागि स्थायी बन्ध्याकरण र लामो समयसम्म काम गर्ने अस्थायी परिवार नियोजनका साधनहरु निशुल्क रुपमा राख्ने कार्यका लागि शिविरको आयोजना गरिन लागिएको बताउनुभयो ।
अनुभवी चिकित्सकसहितको टोलीले शिविरमा सेवा दिने स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिनुभयो ।
शिविरमा महिलाहरुको स्थायी बन्ध्याकरण मिनिल्याप र पुरुषहरुको स्थायी बन्ध्याकरण भ्यासेक्टोमी गरिने बताईएको छ। त्यस्तै शिविरमा ५ बर्षका लागि इम्प्लान्ट र १० बर्षका लागि आइयुसीडी समेत राखिने जनाईएको छ।
स्थानीयस्तरमै परिवार नियोजनका सेवाहरु उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएकाले आ–आफ्नो पायक पर्ने स्थानमा गएर सेवा लिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
