बैतडी-बैतडीमा तीन वर्षको अबधिमा ७० शिशु र ३ प्रसूति महिलाको मृत्यु भएको पाइएको छ।
स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार गएको तीन आर्थिक वर्षमा ७० जना नवजात शिशु र तीन जना प्रसूति महिलाको मृत्यु भएको तथ्याङ्कछ । आर्थिक वर्ष २०७८र७९ मा ४३ नवजात शिशु, आव २०७९र८० मा ११ जना, २०८०र८१ मा १३ जना र चालु आवको साउनदेखि माघ मसान्तसम्म तीन जना नवजात शिशुको मृत्यु भएको छ।
योसँगै आर्थिक वर्ष २०८०र८१ मा दुई जना प्रसूति महिला र चालु आव २०८१र८२ मा एक जना प्रसूति आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका खोज सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो । उनले भने, “दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्म मातृशिशु मृत्युदर शून्यमा झार्ने लक्ष्य भए पनि सो लक्ष्य हासिल गर्न चुनौती छ ।
” उनका अनुसार आमा र शिशुको मृत्यु नरोकिनुका पछाडि स्वास्थ्य संस्था जान ढिलाइ, पुगिहाले पनि स्वास्थ्य सेवा पाउन ढिलाइ र तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी नहुनु मुख्य समस्या रहेका छन्। प्रसूति महिलाको रक्तचाप बढेर शरीर काम्दा देवीदेवताको पछाडि लाग्ने जस्ता अन्धविश्वास पनि रहेको उनले बताउनुभयो ।
बैतडीका १० स्थानीय तह र ८४ वडामा सुरक्षित प्रसूति सेवा दिन १५७ वटा प्रसूति केन्द्र रहेका छन्। यीमध्ये ११५ वटा स्वास्थ्य संस्थामा तालिमप्राप्त दक्ष जनशक्ति रहेको छ भने साबिकका ६८ वटा गाविसका तत्कालीन स्वास्थ्य चौकीमा अनमी, अहेव र औषधी उपकरणको व्यवस्था गरिएको छ।