आजबाट एसईई शुरू, पहिलो दिन अंग्रेजी विषयको परीक्षा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू भएको छ। परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षा तालिकानुसार आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा भइरहेको छ। परीक्षाको लागि देशभरका दुई हजार ७९ परीक्षा केन्द्र तोकिएको छ । यस वर्षको एसइईमा पाँच लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् ।

गएको वर्षको एसइईमा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । पोहोरभन्दा यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको छ ।

यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थी छन् । यस वर्ष सबैभन्दा बढी काठमाण्डौमा ३९ हजार छ सय विद्यार्थी र सबैभन्दा कम मनाङ्मा ४३ जनाले परीक्षा दिँदैछन् ।

एसईई आजदेखि शुरू भएर १९ गतेसम्म चल्नेछ । बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

Leave A Reply

Your email address will not be published.