बैतडीको दशरथचन्दमा सुत्केरीलाई ‘उपमेयरको कोसेली’ वितरण

बैतडीको दशरथचन्द नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाहरुलाई ‘उपमेयरको कोसेली’ वितरण कार्यलाई निरन्तरता दिएको छ। चालु आर्थिक बर्षमा माघ महिनासम्म स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाहरुलाई यसअघि नै कोसेली वितरण गरिसकेको र माघपछि स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाहरुलाई अहिले कोसेली वितरण भइरहेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले बताए।

घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउने, आमा र बच्चाको स्वास्थ्यका बिषयमा घरपरिवारका सदस्यहरुलाई जागरुक गराउने, मातृ मृत्यु र शिशु मृत्युलाई शून्यमा झार्ने उद्देश्यसहित ‘उपमेयरको कोसेली’वितरण गर्ने कार्य भइरहेको जोशीले बताए। आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि सुत्केरी आमाहरुलाई कोसेली दिने कार्यलाई यो बर्ष पनि निरन्तरता दिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् । घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र नगरपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने अर्को उद्देश्य रहेको उपप्रमुख चन्दले बताइन्। उनले भनिन् ‘अझै पनि हाम्रो समुदायमा विभिन्न कारणले सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा दिने चलन कम छ। नगरपालिकाले वितरण गरेको कोसेलीबाट घरपरिवारका सदस्यहरु पनि आमा र बच्चाको पोषण स्थितीमा सुधार ल्याउन जागरुक होउन भनेर हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं।’

यो बर्ष नगरपालिकाभरी ४ सय ७५ जना सुत्केरी आमाहरुलाई ‘उपमेयरको कोसेली’वितरण गर्ने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए। नगर क्षेत्रभित्रका स्वास्थ्य संस्थाहरुमा बच्चा जन्माएका आमाहरुलाई कोसेली दिने कार्य जारी रहेको उनले बताए।

‘उपमेयरको कोसेली’भित्र हरलिक्स, काजु, बदाम, दाल र नुन लगायतका खाद्य सामग्रीका साथै सरसफाइका सामग्री राखिएको छ। सुत्केरी भएको समयमा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले यो बिषयमा जानकारी दिन कोसेलीले महत्वपूर्ण योगदान पुर्याउने स्वास्थ्य शाखा प्रमुख जोशीले बताए।

दशरथचन्द नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका बनाउने लक्ष्यसहित ‘उपमेयरको कोसेली’वितरण गर्ने गरिएको बताइएको छ। सुत्केरी अवस्थामा अरु बेलाको भन्दा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले कोसेलीमार्फत पोषण सम्बन्धी जागरण फैलाउने बताइएको छ।

समुदायमा अझै पनि कतिपय आमाहरुले घरमै बच्चा जन्माइरहेकाले स्वास्थ्य संस्थामै बच्चा जन्माउनेको संख्या वृद्धिका लागि कोसेलीले सहयोग पुग्ने अपेक्षा गरिएको छ । अझै पनि ३० प्रतिशत आमाहरुले घरमै बच्चा जन्माइरहेका अनुमान गरिएको छ। घरमै सुत्केरी हुँदा विभिन्न खालका जटीलता आएर आमा र बच्चाको ज्यान जान सक्ने भएकाले संस्थागत सुत्केरीको संख्या बढाउन कोसेली वितरण गर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए।

स्वास्थ्य संस्थामै सुत्केरी हुने र नेपाल सरकारको प्रोटोकल अनुसार ८ पटक गर्भजाँच गराउने आमाहरुलाई सरकारले २ हजार ८ सय रुपैयाँ प्रोत्साहन भत्ता समेत दिँदै आएको छ। सुत्केरी तथा गर्भवती आमाहरुलाई स्वास्थ्य संस्थामा पुर्याउन नगरपालिकाले निशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने गरेको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए।

यस्तै टीटी खोप, जुकाको औषधी र आइरन चक्की नेपाल सरकारले गर्भवती तथा सुत्केरी आमाहरुलाई निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ। संस्थागत सुत्केरीको संख्या बढाउन तिनै तहका सरकारले प्रयास गरेका भएपनि केही आमाहरु अझै पनि घरमै सुत्केरी हुने गरेको तथ्यांक रहेकाले यो चुनौतीको बिषय भएको जोशीले बताए।

आज दशरथचन्द नगरपालिका–१ का आमाहरुलाई कोसेली वितरण गर्दै नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले नगरपालिकाले आमा र बच्चाको स्वास्थ्यलाई प्राथमिकता राखेको बताए। यस्तै उपप्रमुख चन्दले कोसली वितरण गर्दै सुत्केरी आमाहरुलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरिन्।

Leave A Reply

Your email address will not be published.