हिजो बेलुकादेखि बिहानसम्म देशका विभिन्न ठाउँमा पानी परिरहेकामा अहिले भने देशका धेरै ठाउँमा घाम लागेको छ। देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै छ। कोशी प्रदेशका धेरै ठाउँमा भने मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो मधेस प्रदेश बाहेक सबै प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तर कतै पनि बाढी आउने गरी ठूलो पानी भने नपर्ने मौसमविद् विनु महर्जनले बताउनुभयो।
आजभन्दा भोलि र भोलिभन्दा पर्सि पानी कम पर्ने उहाँको भनाइ छ। महाशाखाले १० मिलिमिटरसम्मलाई हल्का वर्षा र १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा भन्ने गरेको छ। ५० मिलिमिटरभन्दा धेरै तर एक सय मिलिमिटरभन्दा कमको वर्षा भएमा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ।