बैतडी : पञ्चेश्वरमा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। बिहीबार गाउँपालिकाको आयोजनामा पालिका भरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु, शिक्षा समिति र कार्यपालिका सदस्यहरुसगं अन्तरक्रिया गरिएको हो।
शैक्षिक गुणस्तर उकास्न, उपलब्धी वृद्धि गर्न, गत र चालु शैक्षिक सत्रको समिक्षा गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो। यसैगरी उनले आगामी रणनीति, स्थानीय सरकार र शिक्षकहरु र शिक्षासगं सम्बन्धीत सबै पक्षले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरिएको जानकारी दिनुभयो।

नितान्त रुपमा विद्यालयको शैक्षिक अवस्था सुधारका लागि, सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको चासो बढाउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनुभयो। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर देखिएको भन्दै प्रत्येक विद्यालयका विद्यालय व्यवस्थापन अध्यक्षहरु र प्रधानाध्यापक बसेर आ–आफ्नो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किनुको कारण, समस्या, सुधार गनुपर्ने पक्ष र समाधानका उपायका बारेमा लिखित रिपोर्टिङ्ग गरिएको उपाध्यक्ष भट्टले बताउनुभयो।

प्रत्येक विद्यालयका प्रधानाध्यापकहरुले तयार पारेको रिपोर्टिङ्गमा शिक्षक दरबन्दीको कमी, परम्परागत शिक्षणशैली, तालिमको प्रभावकारी कार्यान्वयन नहुनु, शिक्षकबीच समन्वय सहकार्य र सहजीकरणको कमी, अभिभावकले विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री व्यवस्थापन नगरि दिनु, स्वास्थ्य सरसफाई, पोशाक र नियमित हेरचाह नगर्नु, अभिभावकमा शिक्षाको कमीले गर्दा शैक्षिक गुणस्तर सुधार नभएको बताईएको छ।

छलफलका क्रममा शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थीको नियमित दर बढाउने, योजनावद्ध पठन/पाठनमा जोड दिने, बालमैत्री कक्षा कोठा, गाउँपालिकाले अनुगमनमा जोड, शिक्षकबीच समन्वय, तालिमको व्यवस्था तथा कार्यान्वय, मुल्याङ्कन, शैक्षिक सामाग्रीको निर्माण तथा प्रयोग र पाठ्ययोजनाको पूर्व तयारी हुनुपर्ने जोड दिएका छन।

सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको चासो बढाउन, भौतिक तथा अन्य व्यवस्थापनको पक्षलाई सुधार गर्न आवश्यक नीति तथा प्रकृयाबारे सुझाव संकलन गर्ने लक्ष्यका साथ छलफलको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
यसैगरी अति कम विद्यार्थी भएको विद्यालयलाई मर्ज गर्ने र न्यून नतिजा आउने विद्यालयहरुको तह घटाईने, शिक्षक सरुवा, आवश्यक शिक्षक दरवन्दीको व्यवस्थापन लगायत आवश्यक कुराको परिपूर्ती गरिने गाउँपालिका अध्यक्ष चन्दले बताउनुभयो। शिक्षा क्षेत्रमा सुधार ल्याउनको लागि पालिकाको तर्फबाट गरिने सबै कदमहरुमा आफ्नो सर्मथन रहेको गाउँपालिका उपाध्यक्ष भट्टले बताउनुभयो।

कार्यक्रमको अवसर पारेर केहि विद्यालय र प्रधानाध्यापकहरुलाई सम्मान गरिएको छ। गत शैक्षिक सत्रको कक्षा ५ र कक्षा ८ को पालिका स्तरीय परिक्षामा प्रथम, दित्तीय र तृतीय हुने विद्यालयहरुलाई नगदसहित सम्मान गरिएको शिक्षा अधिकृत माहामलसिह घटालले बताउनुभयो। कक्षा ५ र ८ को परिक्षामा केन्द्राध्यक्षको भुमिका खेली परिक्षालाई शान्तीपूर्ण वातावरणमा सम्पन्न गर्ने प्रधानाध्यापकहरुलाई समेत नगदसहित सम्मान गरिएको शिक्षा अधिकृत घटालले जानकारी दिनुभयो।

कार्यक्रममै ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीका प्रहरी नायब निरिक्षक (सइ) प्रमुख नरेन्द्र बहादुर चन्दले लागुऔषध दुव्र्यशनी सम्बन्धी छलफल गर्नुभएको थियो। अपराध न्युनिकरणमा विद्यार्थीहरुको समेत महत्वपूर्ण भूमिका रहेको भन्दै लागुऔषध, साईबर अपराध, बालविवाह, मानव बेचबिखन लागुपदार्थ दुव्र्यसनी लगायत विषयमा जानकारी गराउनुभएको थियो।
