सुदूरपश्चिमले ल्यायो ३३ अर्व ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट

सुदूरपश्चिम प्रदेशले ३३ अर्व ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ। हिजो सुदूरपश्चिम प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्षको बजेट पेश गर्नुभयो।

यो प्रदेशले ल्याएको आगामी आर्थिक वर्षको कुल बजेटमध्ये चालूतर्फ १० अर्व २० करोड ८१ लाख ४२ हजार रुपैयाँ अर्थात् ३०.४९ प्रतिशत, पुँजीगततर्फ १९ अर्व ८३ करोड दुई लाख छ हजार रुपैयाँ अर्थात् ५९.२५ प्रतिशत र अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत तीन अर्व ४२ करोड ७७ लाख अर्थात् १०.२४ प्रतिशत विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ छुट्याएको छ।

सुदूरपश्चिम सरकारले अनुमान गरेको खर्च बेहोर्नेमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्व ६५ करोड रुपैयाँ, सङ्घ सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने नौ अर्व ८७ करोड २५ लाख रुपैयाँ, सङ्घीय रोयल्टी बाँडफाँट वापत प्राप्त हुने रकम आठ करोड रुपैयाँलाई बजेटको स्रोत देखाइएको छ।

त्यसैगरी सङ्घ सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान आठ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ, चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम सात अर्व ६६ करोड ६३ लाख ४८ हजार रुपैयाँ, सशर्त अनुदानबाट प्राप्त हुने चार अर्व १६ करोड ३० लाख रुपैयाँ, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने ६० करोड २६ लाख रुपैयाँ र विशेष अनुदानबाट प्राप्त हुने ५१ करोड ६० लाख रुपैयाँलाई आउँदो आर्थिक वर्षको व्ययको स्रोत अनुमान गरिएको छ।

Leave A Reply

Your email address will not be published.