बैतडीको सुर्नया गाउँपालिकालाई नेपाल विद्यार्थी संघले सुझाव पेश गरेको छ। आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने कुराहरु समेटेर सुझाव पेश गरिएको नेविसंघ सुर्नया गाउँपालिकाका संयोजक जयन्तप्रसाद भट्टले बताए।
गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमका लागि सबै पक्षबाट सुझाव माग गरे अनुसार नेविसंघले सुझाव पेश गरेको भट्टले बताए। सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीलाई सुझाव पत्र बुझाउँदै संयोजक भट्टले नेविसंघले उठाएका बिषयहरु नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न आग्रह गरेका छन्।
नेविसंघले आम नागरिकको सरोकारसंग जोडिएका बिषयवस्तुहरुलाई सुझावको रुपमा पेश गरेको भट्टले बताए। नेविसंघले बुझाएको सुझाव पत्रमा पालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुमा स्वच्छ खानेपानी, सुविधासम्पन्न पुस्तकालय र भौतिक पूर्वाधारको व्यवस्था गर्न भनिएको छ।
यस्तै एसइइ र कक्षा १२ को परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृतिको व्यवस्था गर्नुपर्ने सुझावपत्र उल्लेख गरिएको छ। जनप्रतिनिधि र कर्मचारीहरुका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउने नीति ल्याउनुपर्ने सुझावपत्रमा उल्लेख गरिएको छ।
एक वडा एक रिङ रोडको अवधारण अघि सार्न गाउँपालिकालाई सुझाव दिइएको संयोजक भट्टले बताए। यस्तै सुर्नया गाउँ बस सञ्चालन गर्न समेत सुझाव दिइएको छ।
