गर्भावस्थाको तेस्रो महिना के गर्ने, के नगर्ने?

तेस्रो महिनामा गर्भावस्थाको पहिलो त्रैमासिक लगभग समाप्त हुन्छ र नयाँ लक्षणहरू देखिन सक्छन्। महिलाले हर्मोनल परिवर्तन र शारीरिक परिवर्तनका कारण थकान, चिडचिडापन र भावनात्मक उतारचढाव अनुभव गर्न सक्छन्।

सामान्य जटिलता जस्तै अत्यधिक वान्ता, गर्भपातको जोखिम र संक्रमणको सम्भावना हुन सक्छ, जसको समयमा चिकित्सकको परामर्श आवश्यक हुन्छ। तेस्रो महिनासम्म आइपुग्दा गर्भावस्थाको पहिलो त्रैमासिक लगभग अन्त्यतिर पुगिसकेको हुन्छ। तेस्रो महिनामा प्रवेश गर्दा महिलाले अनुभव गर्ने लक्षणहरूमा केही पहिलेका निरन्तर देखिन्छन् भने केही नयाँ लक्षणहरू थपिन पनि सक्छन्।

वाकवाकी वा वान्ता आउनेजस्ता समस्या यस चरणमा पुगेपछि क्रमशः कम हुन थालेको महसुस हुन सक्छ । तर, ध्यान दिनुपर्ने कुरा के हो भने हरेक गर्भवती महिलाको अनुभव भिन्न हुन्छ। कसैलाई कुनै लक्षण एकदम तीव्र रूपमा देखिन सक्छ भने कसैलाई अत्यन्त हल्का।

यस अवधिमा भ्रूण पनि निकै महत्वपूर्ण विकास प्रक्रियाबाट गुज्रिरहेको हुन्छ। अघिल्ला हप्ताको तुलनामा भ्रूण बढी परिपक्व हुँदै जान्छ, जसले आगामी महिनाहरूका लागि शारीरिक तथा मानसिक तयारी आवश्यक बनाउँछ।

आमामा देखिने परिवर्तन

तेस्रो महिनामा केही लक्षणहरू पहिलो दुई महिनाकै निरन्तरता हुन सक्छन्, भने केही नयाँ लक्षणहरू पनि थपिन्छन्। हर्मोनल परिवर्तन र शरीरमा रगतको प्रवाह बढ्दा सेतो र गन्धरहित योनीस्राव हुन सक्छ। यस्तो अवस्थामा सुतीको कपडा वा पेन्टी प्रयोग गर्नु राम्रो हुन्छ।

केही महिलालाई यो समयमा पनि बिहान वाकवाकी लाग्न सक्छ, तर यो क्रमशः कम हुँदै जान सक्छ। हर्मोनल परिवर्तनका कारण शरीरमा थकान महसुस हुनसक्छ। यो समयमा सामान्यभन्दा बढी आराम आवश्यक हुन्छ।

पाठेघरको आकार बढ्दा पिसाबथैलीमा दबाब पर्छ, जसले बारम्बार पिसाब लाग्ने अनुभव हुन्छ। हर्मोनको उतारचढावले चिडचिडापन, रिस वा भावनात्मक परिवर्तन हुनसक्छ। केही खानेकुराप्रति तीव्र इच्छा वा पहिले मनपर्ने खानाप्रति अरुचि हुन सक्छ।

मेलानिन हर्मोनको वृद्धिले छालाको रङ गाढा भई अनुहारमा चाया पोतो देखिनसक्छ। हर्मोनल परिवर्तन र पाठेघरको दबाबले पाचन प्रक्रिया सुस्त हुन सक्छ, जसले कब्जियत हुनसक्छ। पेटमा हावा भरिएको जस्तो हुने र खानामा अरुचि हुनसक्छ। गर्भाशयको आकार र शरीरको तौल बढ्न थाल्छ।

तर, वाकवाकीका कारण केही महिलाको तौल कम पनि हुन सक्छ। यो समयमा अत्यधिक थकान र निद्रा लाग्नसक्छ।

मानसिक स्थिति

सबैभन्दा बढी भावनात्मक उत्तारचढाव पहिलो त्रैमासिकमै हुन्छ। यो महिना महिला एकैछिनमा झन्नक रिसाउने, झर्को मान्ने, एकैछिनमा भावुक हुने, सानो कुरामा पनि रुने वा हास्ने खालको स्वभाव हुन्छन्। यो बेला डर र चिन्ताले पनि अत्यधिक सताउँछ।

किनकी, यो बेला सन्तान खेर जाने होकी, बच्चाको धडक्‌न नआउने हो वा गर्भपात हुने होकी भन्ने अनेकौं विचारले सताउन सक्छ । यो तीन महिनाको अन्तिमसम्म गर्भपातको सम्भावना घट्दै गइरहेको हुन्छ।

सम्भावित जटिलताहरू

यो महिनामा सामान्यदेखि गम्भीर जटिलताहरू देखिन सक्छन्। जसको समयमै पहिचान र उपचार गर्नु आवश्यक हुन्छ।

यो बेला अत्यधिक वान्ता आएर पानी पनि पिउन नसक्ने अवस्था केही महिलामा देखिनसक्छ। बान्ता मात्र भइरहने केही खान पिउन नसक्ने भने पछि एसिड शरीरभर फैलिएको बुझिन्छ।

यो भनेको गम्भीर अवस्था हो। यस्तोमा आत्तिने होइन तुरुन्त चिकित्सकलाई भेट्नुपर्ने हुन्छ। आवश्यक परे भर्ना गरी स्लाइन पानी दिनुपर्ने हुनसक्छ। अर्को जटिलता भनेको गर्भपातको जोखिम हुनसक्छ। पहिलो र दोस्रो महिनाभन्दा कम जोखिम भए पनि गर्भपतन नहोला भन्न सकिन्न।

बच्चाको धड्कन नआउने, मासुको पोकामा गएर बस्ने वा पाठेघरको मुख खुल्ने, शारीरिक रुपमा अस्वस्थ बच्चा भएमा गर्भपतन हुनेसम्भावना हुनसक्छ। पिसाब संक्रमण, रक्तअल्पता, संक्रमण, छालामा चाया पोतो र एलर्जी आउनसक्ने सम्भावना रहन्छ।

बच्चाको विकासको गति

तीन महिना सुरु भएसँगै बच्चाको अंगहरू बन्ने र आकारप्रकार लिन थाल्ने प्रक्रियामा हुन्छ। बच्चाको मुटुको धड्कन बन्ने, मिर्गौला, कलेजो, फोक्सोको विकास हुन थाल्छ। नाक, कान, घाटी, हातखुट्टाले आकारप्रकार लिन थाल्छ। भ्रूणको आकार लगभग साढे ५ देखि ६ सेन्टिमिटर पुग्छ।

खुट्टा लम्बिन्छ, औंला र नङहरू बन्न थाल्छन्। अनुहारको आकार बन्दै जान्छ, आँखा, नाक र मुखको रूपरेखा स्पष्ट हुन्छ। बच्चाको लिङ्ग बन्न थाल्छ, र अल्ट्रासाउन्डबाट लिङ्ग पहिचान गर्न सकिन्छ। मांसपेशीहरूको विकास सुरु हुन्छ, र बच्चाले हलचल गर्न थाल्छ ९यद्यपि आमाले यो महसुस गर्न अझै समय लाग्छ ।

मस्तिष्क विकासले पनि द्रुत गति लिन थाल्छ। बच्चामा कुनै किसिमको समस्या छैन भने अल्ट्रासाउण्डमा धड्कन स्पष्ट रुपमा सुन्न सकिन्छ।

यात्रा गर्न मिल्छ?

यदि छोटो दूरीको बाटो सहज छ भने यात्रा गर्न मिल्छ। तर, यो समय भू्रणको सन्तुलन बलियो नभइसकेकोले उचाई, अवरुद्ध र असमान बाटोमा स्कुटर र बाइकमा यात्रा गर्दा गर्भपात हुनसक्ने सम्भावना उच्च हुन्छ।

के परीक्षण गर्ने ?

तेस्रो महिनामा नियमित स्वास्थ्य जाँच र परीक्षणहरू गर्नु आवश्यक हुन्छ। यो समयमा स्वास्थ्य जटिलता बढी देखिने हुँदा फलोअप छुटाउनुहुँदैन।

कुनै पनि परीक्षण राम्रोसँग भइसकेको छैन भने हेमोग्लोबिन, पिसाब, थायराइड, मधुमेह, एचआइभी, हेपाटाइटिस बी परीक्षण गरिन्छ।

यो महिना पहिलो भिडियो एक्स रे र स्क्रिनिङ गरिन्छ। एन्टी एनबी स्क्यान नामक भिडियो एक्स रेबाट बच्चाको नाकको हड्डी (नेजल बोन) बनेको छरछैन र घाँटीको पछाडि पानी जमेको छरछैन हेर्ने गरिन्छ।

यो जाँचले क्रोमोजोमल असामान्यता ९जस्तै डाउन सिन्ड्रोम० वा मानसिकरशारीरिक अस्वस्थताको जोखिम पत्ता लगाउँछ।

डुअल टेस्ट र क्वाड्रुपल टेस्ट गरी डाउन सिन्ड्रोम वा अन्य क्रोमोजोमल असामान्यता भएका बच्चा जन्मने जोखिम पत्ता लगाउन गरिन्छ।

के खाने?

– सागसब्जी, मौसमी फलफुल प्रशस्त मात्रामा खाने।

– प्रोटिनको लागि दाल, अण्डा, दुध, माछामासु खानुपर्छ।

– फलाममा पकाएको खानेकुरा खान सकिन्छ। यसले कमी भएको आइरनको पुर्ति गर्छ।

– पानी दुई देखि तीन लिटर खानुपर्छ । वाकवाक लागिरहेको छ भने जीवनजल खान सकिन्छ।

– चिकित्सकले सुझाएको फोलिक एसिड, भिटामिन र आइरनचक्की नछुटाइ खानुपर्छ।

के नखाने ?

– अत्यधिक चिया, कफीको सेवन नगर्ने।

– धुम्रपान र मदिरापानबाट टाढै रहने।

– नुन बढी भएको फास्ट फुड, प्याकेटको खानेकुरा नखाने।

– काँचो मासु, नपाकेको अण्डा सेवन नगर्ने।

– जथाभावी औषधि नखाने।

चिकित्सकलाई तत्काल भेट्नुपर्ने अवस्था

निम्न लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ।

– यो महिनामा थोरै रगत देखिएमा पनि उच्च जोखिम रहेको मानिन्छ।

– पानी समेत पचाउन नसक्ने, तीव्र पेट दुखाई, ज्वरो आउनु र पिसाब पोल्नु।

– योनीको पानी दही, चउलानीको छेक्रा बग्ने, चिलाउने र गन्हाउने हुनु।

– बेहाशी हुनु, चक्कर लाग्नु।

परिवारको साथ र सहयोग

पहिलो नयाँ बन्दै गरेकी आमाको लागि श्रीमान र परिवारको साथको एकदमै आवश्यकता पर्छ। यो बेला वाकवाक र चक्कर लाग्दा शरीर सन्चो नहुने हुँदा आराम गर्न लगाउने, कामहरू आफै गरिदिने, मनलागेको खानेकुरा बनाइदिने, उनले नभने पछि बुझेर उसले गरिरहेको कामहरू गरिदिने गर्नुपर्छ।

हर्मोनल उत्तारचढावका कारण गर्भवती महिला अत्यधिक रिसाउने र झर्किने हुनसक्छ। कतिपय अवस्थामा त सही र गलत हो भनेर छुटाउन पनि नसक्ने हुनसक्छिन्। यस्तोमा उनलाई गाली होइन उसको भावना बुझेर सम्झाउने र सहज वातावरण सिर्जना सबै मिलेर गरिदिनुपर्छ।

त्यस्तै, तनावको कुरा नसुनाउने र चिकित्सकलाई भेट्न जाँदा एक्लै नपठाइकन जसको फुर्सद छ त्यही व्यक्ति जानुपर्छ । परिवारको सदस्यमा पनि श्रीमानले हरेक तवरबाट साथ, माया र हेरचाह दिनुपर्छ।

९चिकित्सकको फलोअप कुनै पनि बेला छुटाउनु हुँदैन। किनकि, एउटा छुटेमा पनि जटिलता आएको थाहा नभई पछि समस्या हुनसक्छ।

ध्यान दिनुपर्ने कुरा

– देब्रे कोल्टे फर्केर सुत्नुपर्छ।

– निद्रा पर्याप्त पुर्‍याउने कोसिस गर्ने।

– ढाड सिधा पारेर बस्ने।

– हल्का फुल्का व्यायाम, जस्तै १५ देखि २० मिनेटको हिँडनुपर्छ।

– हल्का संगीत सुन्ने, पढ्ने वा बाहिर घुम्ने।

– पोषिलो खानेकुरामा मात्र जोड दिने।

– भारी सामान नउठाउने, झट्ट उठ्ने बस्ने नगर्ने र बिस्तारै उठ्ने।

– तोकिएको सप्लिमेन्ट र नियमित जाँचलाई निरन्तरता दिने।

सावधानी

– भारी वस्तुहरू नउठाउने।

– पेटलाई टेकेर नसुत्ने।

– कुनै पनि औषधि लिनुपुर्व चिकित्सको परामर्श लिने।

– तनाव नलिने र तनावपूर्ण वातावरणमा नबस्ने।

– सडक अवरुद्ध भएको स्थानमा नजाने।

– लामो समयसम्म बसेर वा उभिएर काम नगर्ने।

अनलाइनखबर

Leave A Reply

Your email address will not be published.