बैतडी: मेलौलीमा भएको नगरस्तरीय छलिया तथा बृहत सांस्कृतीक प्रतियोगितामा विवाद उत्पन्न भएको छ। दलित लक्षित कार्यक्रम नै दलित अगुवाहरु मार्फत नभएको भन्दै विवाद उत्पन्न भएको हो।
आईतबार मेलौली नगरपालिकाका दलित अगुवाहरुले मेलौली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दलाई एउटा पत्र बुझाएका छन। मेलौली नगरपालिकाको आर्थीक वर्ष २०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमका बारेमा जानकारी लिन पत्र बुझाएको दलित अगुवा सुरत पार्कीले बताउनुभयो।
“पत्रमा भनिएको छ, कलाकार समुह अनुभव आदान-प्रदान तथा प्रर्दशनी कार्यक्रम र छलिया महोत्सव भनेर सम्पन्न गरियो। अन्य कलाको कुनै प्रस्तुती रहेन् तथा समाबेश गरिएन्, दलित लक्षित कार्यक्रम दलित अगुवाहरु मार्फत हुनुपर्ने तथा दलित सम्वंद्ध सघं सस्था मार्फत हुनुपर्ने समाजिक विकास समिति कसरी सर्वेसर्वा भयोर? यो कार्यक्रम नियम विपरित छ। खरिद गरिएका सामग्रीहरुको फर्जि विल छन्, भन्ने सुनिएकाले उक्त कार्यक्रम कुनै संस्था मार्फत भयो? स्वीकृत भयो या ब्यक्ति विशेष मार्फत भयो भनेर जानकारी दिन भनिएको छ।”
सम्पन्न भएको कार्यक्रम मेलौली नगरपालिकाका सम्पूर्ण वडाका दलित अगुवाहरुबाट खर्च अनुमोदन हुनुपर्ने माग समेत गरिएको छ। माग गरिए अनुसार आवश्यक जानकारी नदिए कार्यक्रम विपरित अन्य कानुनी बाटो अपनाउने कुरा समेत पत्रमा उल्लेख गरिएको छ।
मेलौली नगरपालिकाको सामाजिक विकास समिति आयोजक र मेलौली नगरपालिका मुख्य प्रवन्धक भनेर कार्यक्रम सञ्चालन गरिएको थियो। यहि असार १३ र १४ गते दुईदिन मेलौली भगवती मन्दिरको प्राङ्गणमा कार्यक्रम सञ्चालन गरि सम्पन्न गरिएको हो।
यो बिषयमा कार्यपालिका सदस्य विजय पोखरेलसगं बुझ्दा दलितकै कार्यक्रम नभएको बताएका छन। नगरपालिकाले निकाल्ने रातो किताबको १०७ र १०८ नम्बरमा कलाकार समुह अनुभव आदान-प्रदान तथा कला प्रर्दशनी भन्ने कार्यक्रम रहेको बताएका छन।
नगरपालिकाको रातो किताबमा लेखिएको शिर्षक अनुसार काम गर्नुपर्ने भएकाले कार्यक्रमको पहिलो दिन कला प्रर्दशन गरिएको र दोस्रो दिन प्रतियोगिता सञ्चालन गरि प्रोत्साहनसहित पुरस्कार प्रदान गरिएको बताएका छन।
कार्यक्रम प्रकृयागत हिसावले सञ्चालन गरेको कार्यपालिका सदस्य पोखरेलको दावि छ। वडाले नगरपालिकालाई सिफारीस गरेका कलाकारहरुलाई मात्र प्रतियोगितामा समाबेश गरिएको बताए। सामाजिक विकास शाखा मार्फत किन सञ्चालन गरिएको भन्ने कुरामा कला संस्कृति सम्बन्धीका कार्यक्रम समाजिक विकास समितिभित्र पर्ने स्पष्ट पारे।
खरिद गरिएका सामग्रीहरुको फर्जि विल बनाईएको भन्ने कुरामा छानबिनबाट स्पष्ट हुने बताए। नियम विपरित बिल बनाईएको र कर छलेको कुरा कानुनी प्रकृयाबाट सम्बन्धित निकायले हेरे थाहा भईहाल्ने बताए। साथै नगरपालिकाबाट अहिलेसम्म भुक्तानी नभएको उनले बताए।
पहिलो दिन सामाजिक विकास शाखाका संयोजकको प्रमुख आतिथ्य र दोस्रोदिन नगर प्रमुखको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको बताईएको छ। कार्यपालिका सदस्य पोखरेलले कार्यक्रम नियम संगत सञ्चालन गरिएको र कसैले पूर्वाग्राही ढंङ्गबाट र नबुझेर बिरोध गरेको बताएका छन।
दलित अगुवाहरुले नगरपालिकालाई बुझाएको पत्र।
