बैतडी : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बैतडीका ५२।२९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन। एसईई सहभागी भएका १२८ सामुदायिक र ५ ओटा संस्थागत विद्यालयमध्ये चारओटा सामुदायिक विद्यालयहरुको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ।
पुर्चौंडी नगरपालिकाको महादेव मावि त्रिकाली, शिवनाथ गाउँपालिकाको उदय मावि कफाडी र शिवपूर्ण माविको नतिना शून्य आएको छ। यस्तै दशरथचन्द नगरपालिकाको सरस्वती संस्कृत मावि नगतडीको नतिजा शून्य आएको छ।
सरस्वती संस्कृत माविको नतिजा गत बर्ष समेत शून्य आएको थियो। गत बर्ष जिल्लाभरी १८ ओटा विद्यालयको नतिजा शून्य आएकोमा यो बर्ष भने नतिजामा सुधार आएको छ।
गत चैतमा सञ्चालन भएको एसईईमा ४ हजार ३०७ जना परीक्षार्थी मध्ये ४ हजार २ सय १८ जना सहभागी भएका थिए । परीक्षा फारम भरेका ८९ जना परीक्षामा अनुपस्थित रहेका थिए।