बैतडी: सुर्नया गाउँपालिकाले गत शैक्षिक सत्रमा एसईई र कक्षा ८ को आधारभूत परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ। शुक्रबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरेर एसईईमा उत्कृष्ट नतिजा ल्याउने ६ जना र कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने तीन जनालाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए।
गत चैतमा सञ्चालन भएको एसईईमा सहभागी भएका ६ जनाले ३।४ जीपीएभन्दा बढी ल्याएकाले उनीहरुलाई पुरस्कार र सम्मान पत्र प्रदान गरिएको उनले बताए। ३।७३ जीपीए ल्याएका शंकर संस्कृत मावि मूलखटालीका रोहित अवस्थीलाई नगद १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । यस्तै ३।६५ जीपीए ल्याएका सोही विद्यालयका रोहित कुँवरलाई नगद १२ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ।
३।५९ जीपीए ल्याएका वासुदेव मावि लिस्किटाका भूषण शाहलाई नगद १० हजारसहित सम्मान पत्र प्रदान गरिएको छ। यसैगरी ३।५१ जीपीए ल्याएका शंकर संस्कृत मावि मूलखटालीकी करिश्मा अवस्थीलाई नगद ८ हजारसहित सम्मान पत्र, ३।४२ जीपीए ल्याएका वासुदेव मावि लिस्किटाकी आरती चन्द र रौलेश्वर मावि रामकी बरायलकी इशिका मडैलाई समान ७ हजारसहित सम्मान पत्र प्रदान गरिएको छ।
यस्तै गत फागुनमा सञ्चालन भएको पालिकास्तरीय कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएका तीनजनालाई पनि नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए। ३।६८ जीपीए ल्याएका भुवनेश्वर मावि गोयलीका चन्द्रबहादुर बिष्टलाई ११ हजार नगदसहित सम्मान पत्र, ३।६४ जीपीए ल्याएका रौलेश्वर मावि रामकी बरायलका कपिल चन्दलाई नगद ८ हजारसहित सम्मान पत्र र ३।५७ जीपीए ल्याएका केदार आवि डुङरीका आशिष भट्टलाई नगद ६ हजारसहित सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
विद्यार्थीहरुलाई प्रदान गरिएको पुरस्कारमा नेपाल सरकारको नियमानुसार २५ प्रतिशत करकट्टी गरेर उपलब्ध गराइएको शिक्षा शाखा प्रमुख अवस्थीले बताए। गाउँपालिकाभित्रका मेधावी विद्यार्थीहरुको मनोबल बढाउन पुरस्कार तथा सम्मानपत्र दिने कार्यक्रम सञ्चालनमा ल्याएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए। पुरस्कार तथा सम्मान समारोहमा बोल्दै उनले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउन यस्ता कार्यक्रमहरुले सहयोग पुग्ने बताए।
यस्तै गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले पुरस्कार वितरणले दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई पढाइतर्फ आकर्षित गर्ने बताइन्। पुरस्कार र सम्मानको कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने उनले बताइन्। गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कारका साथै सम्मान गरेकोमा अभिभावकहरु पनि खुशी भएका छन्। यस्ता कार्यक्रमहरुले बालबालिकाहरुलाई शिक्षा ग्रहणमा सहयोग पुग्ने स्थानीय धिरेन्द्र मडैले बताए।